काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेसनमा महामन्त्री पदमा पराजित भएपछि तत्कालीन सरकारमा रक्षा मन्त्री रहेका डा. मिनेन्द्र रिजालले आफ्नो पदबाट राजिनमा दिए । महामन्त्रीमा पराजित भएलगत्तै रिजालले नैतिकताको कारणले आफू पदमा बसिरहन नमिल्ने बताउँदै आफ्नो पदबाट राजिनमा दिए । जबकी त्यो कुनै जनमतको परिक्षण थिएन, त्यो त मात्रै आफ्नो पार्टीको आन्तरिक प्रतिस्पर्धा थियो । उच्च नैतिकता प्रदर्शन गर्दै आफ्नो राजकीय पदबाट राजिनामा दिएका डा. रिजाललाई कांग्रेस सभापति शेरबहादुर देउवाले यसपटक जनमतमा जाँचिने अवसरबाटै बञ्चित गरिदिए । तर यतिबेला पार्टीको आन्तरिक प्रतिस्पर्धा होइन जनताको जनमतको परिक्षण भइरहेको छ ।
जनताले प्रतिनिधि बनाउन अस्वीकार गरिसक्दा पनि वर्तमान सरकारका केही मन्त्रीहरू पदमै बसिरहेको देख्दा आम जनताले प्रश्न उठाउने वेला भएको छ । देउवा मन्त्रिमण्डलमा उर्जा तथा जलश्रोत मन्त्री रहेकी पम्फा भुसाल र नागरिक उड्डेयन तथा पयर्टन मन्त्री रहेका जीवनराम श्रेष्ठ आ आफ्नो निर्वाचन क्षेत्रमा नराम्ररी पराजित भएका छन् । दुवै उम्मेदवार प्रतिस्पर्धी पनि होइन तेश्रो स्थानमा पुगेका छन् । बहालवाला मन्त्री यसरी जनताबाट नराम्ररी अस्वीकार भइसक्दा आफ्नो पदबाट तत्काल राजिनामा दिनुपर्ने हो । आशा गरिएको थियो कि परिणाम सार्वजनिक भएलगत्तै उनीहरूले आफ्नो पदबाट राजिनामा गर्नेछन् भन्ने, तर औपचारिक परिणाम सार्वजनिक भइसक्दा पनि उनीहरू मन्त्री पदमै कायम रहेका छन् ।

उनीहरु मन्त्री पदमा बहालमात्रै छैनन् बरु मन्त्रीकै हैसियतमा मन्त्रालयका नियमित काम मात्रै होइन दीर्घकालिक महत्वका निर्णय गराउने योजनामा रहेका छन् । पयर्टनमन्त्रालय श्रोतका अनुसार पयर्टन मन्त्री जीवनराम श्रेष्ठ निर्वाचन हारे लगत्तै मन्त्रालयको खर्चमा विदेशशयर गर्ने योजनामा रहेका छन् । यस्तै ऊर्जामन्त्री भूषाल पनि नियमित कार्य गरिरहेको मन्त्रालय श्रोतले जनाएको छ । जनताले पराजित गरिसकेपछि तत्काल जनमतको कदर गर्दै मन्त्री पदबाट राजिनामा दिनुको साटो उल्टै आफूलाई फाइदा हुने किसिमका निर्णय गर्न उद्धत हुनुले उनीहरु जनताप्रति उत्तरदायी नभएको देखिन्छ । स्थापित पार्टीहरूको यस्तै जनमतको वेवास्ता गर्ने प्रवृत्तिबाट वाक्क दिक्क भएका जनताले उनीहरूलाईब्यालेटबाट कारवाही गर्ने अभियान आरम्भ गरिसक्दा पनि उनीहरु चेताएका छैनन् ।
मन्त्रीमा बहाल भइरहेका भुसाल र श्रेष्ठले जनमतको मात्रै उपहास गरेका छैनन् बरु आफू सम्बद्ध पार्टीको छविलाई समेत थप धूलिसात पार्दैछन् । त्यसैले उनीहरूलाई तत्काल राजिनामा दिन पार्टी नेतृत्व र प्रधानमन्त्रीले निर्देशन गर्नुपर्छ । नभए यो भन्दा ठुलो नैतिकताको खडेरी र जनमतको उपहास अरु केही हुँदैन ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९