काठमाडौं । नेपाल सरकारले सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सार्वजनिक गरेको केही घण्टामै विश्वकै ठुलो सामाजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटा सरकारले तोकेको दर्ता प्रक्रिया अघि बढाउन इच्छुक रहेको सन्देश पठाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एक कर्मचारीले मन्त्रालयसँग सम्पर्क गर्दै दर्ता तथा सूचीकरणका लागि आवश्यक विवरण मागेका हुन्।
उनका अनुसार सो कर्मचारीले मन्त्री पृथ्वीशुब्बा गुरुङको स्वकीय सचिव (पीए) शालिग्राम पराजुलीलाई सम्पर्क गरेका थिए। त्यसलगत्तै मन्त्रालयले मेटालाई दर्ता प्रक्रियाका लागि आवश्यक पर्ने सबै कागजात र प्राविधिक विवरण इमेलमार्फत पठाएको हो।
प्रवक्ता ठाकुरले भने, “मेटाको सिंगापुरस्थित एक अन्सारी थरका कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि आवश्यक डकुमेन्टबारे जानकारी माग्नुभएको थियो। त्यसपछि हामीले तत्काल इमेल गरेर पाँच मिनेटमै आवश्यक पर्ने सबै विवरण पठाइसकेका छौं।”
सरकारले अघिल्लो दिन सार्वजनिक गरेको निर्णयअनुसार नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूले अनिवार्य रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता गर्नुपर्नेछ। अन्यथा सूचीकृत नभएका सञ्जाललाई बन्द गरिने चेतावनी सरकारले दिएको छ।
फेसबुक नेपालमा प्रयोगकर्ताको ठूलो आधार भएको सामाजिक सञ्जाल भएकाले सरकारले दर्ता प्रक्रिया कडाइका साथ लागू गर्ने निर्णय गरेपछि मेटाले चासो देखाएको बताइएको छ। मन्त्रालयले दर्ता प्रक्रिया पूरा गर्न मेटासँग आवश्यक समन्वय गर्ने तयारी गरेको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२