रामहरि बजगाईँ
नेपाल आज इतिहासको एक अत्यन्त संवेदनशील मोडमा उभिएको छ। यो समय सामान्य राजनीतिक असन्तोष, सत्ता फेरबदल वा दलगत प्रतिस्पर्धाको मात्र विषय होइन। यो समय देशको अस्तित्व, राष्ट्रिय स्वाभिमान र भविष्यको दिशाबारे गम्भीर निर्णय गर्ने घडी हो। २०८४ सालमा नियमित निर्वाचन हुने, लोकतान्त्रिक प्रक्रियामार्फत सुधार र स्थायित्व सम्भव हुने आशा जीवित रहँदै गर्दा, अनावश्यक हतारमा मुलुकमाथि थोपरिएको निर्वाचनले धेरै प्रश्न जन्माएको छ। यो निर्वाचन सामान्य परिस्थितिमा भएको होइन, न त यसलाई सामान्य राजनीतिक अभ्यासकै रूपमा बुझ्न सकिन्छ।
आजको राजनीतिक संघर्ष मूलतः दुई धारबीच केन्द्रित छ। एक धार त्यो हो, जसले विदेशी शक्तिकेन्द्रको इसारामा नाच्दै राज्यका संरचनालाई कमजोर बनाइरहेको छ, जनतामा निराशा फैलाइरहेको छ र नेपाललाई प्रयोगशाला वा रणमैदान बनाउने दिशामा धकेलिरहेको छ। अर्को धार त्यो हो, जसले आन्तरिक कमजोरी स्वीकार गर्दै पनि देशको पहिचान जोगाउन, स्वाभिमानसहित विश्व सामु उभिन र राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने मान्यता राख्छ। आजको राजनीतिक बहस यही द्वन्द्वको वरिपरि घुमिरहेको छ।
नेपाल भूराजनीतिक रूपमा अत्यन्त संवेदनशील मुलुक हो। दुई ठूला शक्तिशाली छिमेकीबीच अवस्थित नेपाल सधैं सन्तुलित कूटनीति, आत्मसम्मान र स्पष्ट राष्ट्रिय दृष्टिकोणमा टिक्नुपर्ने देश हो। तर पछिल्ला वर्षहरूमा राज्यका निकायहरूलाई कमजोर बनाउने, निर्णय प्रक्रियालाई अन्योलमा पार्ने र ‘सबै कुरा बिग्रिएको छ’ भन्ने भाष्य निर्माण गर्ने प्रयासहरू तीव्र भएका छन्। जब राज्यप्रति नै जनताको विश्वास तोडिन्छ, तब बाह्य हस्तक्षेप सहज हुन्छ। यही रणनीति अन्तर्गत आज नेपालमा अस्थिरता सिर्जना गरिएको अनुभूति धेरै राष्ट्रभक्त नेपालीले गरिरहेका छन्।
यही सन्दर्भमा केपी शर्मा ओलीको राजनीतिक भूमिकालाई अलग गरेर हेर्न सकिँदैन। ओली केवल एउटा दलका नेता मात्र होइनन्; उनी राष्ट्रिय स्वाभिमानको राजनीतिलाई व्यवहारमा उतार्ने प्रयास गर्ने नेताका रूपमा चिनिन्छन्। चुच्चे नक्सा सार्वजनिक गर्नु सामान्य प्रशासनिक निर्णय थिएन। त्यो नेपालले आफ्नो भूभाग र सार्वभौमिकतामाथि सम्झौता नगर्ने स्पष्ट सन्देश थियो। छिमेकीसँग आँखामा आँखा जुधाएर आफ्नो कुरा राख्ने साहस सबै नेतृत्वमा हुँदैन। ‘सत्यमेव जयते’को पाठ पढाउनु कूटनीतिक जोखिमसहितको निर्णय थियो, तर राष्ट्रहितका विषयमा मौन बस्नु झनै ठूलो कमजोरी हुने थियो।
यही अडानकै कारण केपी ओलीमाथि चौतर्फी आक्रमण भयो। राजनीतिक आलोचना मात्र होइन, चरित्र हत्या, वैचारिक भ्रम र योजनाबद्ध विरोधको लहर चलाइयो। आज देखिएका केही पात्र र प्रवृत्तिहरू—जसलाई ‘वैकल्पिक’ वा ‘नयाँ शक्ति’का रूपमा प्रस्तुत गरिएको छ—वास्तवमा यही अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको खेलमा प्रयोग भएका मोहरा मात्र हुन् कि भन्ने प्रश्न गम्भीर रूपमा उठ्छ। आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो, तर आलोचनाको नाममा राष्ट्रिय नेतृत्वलाई ध्वस्त पार्दै बाह्य स्वार्थ पूरा गर्नु राष्ट्रघाततर्फको यात्रा हो।
राजनीतिमा भावनाभन्दा काम ठूला हुन्छन्। केपी ओली नेतृत्वको कालखण्डलाई केवल भाषण र नाराको रूपमा हेर्न मिल्दैन। देशले प्रत्यक्ष अनुभूति गर्ने खालका संरचनात्मक परिवर्तनहरू यही कालमा भएका छन्। वर्षौंसम्म नेपाली जनताले भोगेको लोडसेडिङ अन्त्य हुनु कुनै चमत्कार होइन, तर स्पष्ट नीति, निर्णय क्षमता र कार्यान्वयनको परिणाम हो। विद्युत् उत्पादन बढाएर देशलाई आत्मनिर्भरतातर्फ लैजाने आधार यहीँबाट तयार भयो।
सडक सञ्जालको विस्तारले देशको भूगोल मात्र जोडिएको छैन, अर्थतन्त्र र सामाजिक जीवन पनि जोडिएको छ। आज लगभग सबै जिल्लामा सडक पुगेका छन्। पूर्व–पश्चिम राजमार्ग एसियन हाइवेका रूपमा विकास हुँदैछ, उत्तर–दक्षिण करिडोरले भारत र चीनलाई जोड्ने सम्भावना बोकेको छ। यी सबै दीर्घकालीन सोच र राज्यस्तरीय क्षमताको परिणाम हुन्, जसलाई नकारेर राजनीतिमा इमानदार बहस हुन सक्दैन।
आज ‘लोकप्रियता’लाई नेतृत्व क्षमताको मापदण्ड बनाउने प्रवृत्ति बढेको छ। सामाजिक सञ्जालमा भाइरल हुनु, कडा अभिव्यक्ति दिनु वा अरूलाई गाली गर्नु नेतृत्व होइन। नेतृत्व भनेको संस्थागत रूपमा काम गर्न सक्ने क्षमता हो। काठमाडौं महानगरको उदाहरण यस सन्दर्भमा महत्वपूर्ण छ। ठूला प्रतिबद्धता, ठूला भाषण र ठूलो जनअपेक्षा हुँदाहुँदै पनि बजेट कार्यान्वयन, नीति निरन्तरता र समन्वयको अभावले परिणाम कमजोर भएको यथार्थ जनताले देखिसकेका छन्। एक शहर चलाउन नसक्ने नेतृत्वलाई देश सुम्पनु कति जोखिमपूर्ण हुन्छ भन्ने प्रश्न गम्भीर रूपमा उठ्छ।
लोकतन्त्रमा असन्तुष्टि स्वाभाविक हो। एमालेभित्र, केपी ओलीप्रति पनि धेरैको गुनासो हुन सक्छ। ती गुनासाहरूको समाधान संवाद र बहसमार्फत हुनुपर्छ। बदला लिने हो भने अर्को निर्वाचन सधैं विकल्पका रूपमा रहन्छ। तर व्यक्तिगत रीस, असन्तुष्टि वा अहंकारका कारण देशलाई विदेशी शक्तिको खेल मैदान बनाउनु कहिल्यै स्वीकार्य हुन सक्दैन। आजको संकटमा प्राथमिकता व्यक्ति वा दल होइन, राष्ट्र हुनुपर्छ।
नेपाल आज जुन मोडमा छ, त्यहाँ भावनात्मक आवेग होइन, जिम्मेवार निर्णय आवश्यक छ। स्थायित्व बिना विकास सम्भव हुँदैन, र स्पष्ट राष्ट्रिय दृष्टिकोण बिना स्थायित्व आउँदैन। केपी शर्मा ओलीको नेतृत्व सबै हिसाबले त्रुटिरहित नहोला, तर राष्ट्रिय स्वाभिमान, विकासको निरन्तरता र कूटनीतिक स्पष्टताको हिसाबले आजको सन्दर्भमा विकल्पविहीन जस्तै देखिन्छ।
यसकारण आज एमाले र केपी ओलीको नेतृत्वलाई समर्थन गर्नु कुनै अन्धभक्ति होइन। यो देशको अस्तित्व, पहिचान र भविष्यको पक्षमा उभिनु हो। मतभेदहरू भोलि पनि समाधान गर्न सकिन्छ, आलोचना पनि जारी रहन सक्छ। तर आज यदि हामी अस्थिरताको खेलमा फस्यौं भने भोलि सुधार गर्ने अवसर नै नबाँच्न सक्छ। यही सत्य बुझ्नु आजको सबैभन्दा ठूलो राष्ट्रवादी चेतना हो।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०८२