काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्दै उच्च आत्मविश्वासका साथ संसदीय निर्वाचनमा होमिएको छ । संसदीय चुनावमा सतप्रतिशत उम्मेदवारी दिएको यो सम्भवतः राप्रपाको इतिहासमै पहिलो पटक हो ।
वैकल्पिक र परम्परागत राजनीतिक शक्तिहरूबीच तीव्र चुनावी प्रतिस्पर्धा भइरहँदा मुख्य राजावादी शक्तिका रूपमा राप्रपा भने अलगै मनोबलका साथ मैदानमा उत्रिएको देखिन्छ । कुनै पनि चुनावी तालमेल नगरी सबै क्षेत्रमा उम्मेदवारी दिनु नै पार्टीको बढ्दो आत्मविश्वासको संकेत भएको नेताहरू बताउँछन् । यति मात्र होइन, चुनावपछिको राजनीतिक समीकरणमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री बनाउने लक्ष्यसहित राप्रपा अघि बढिरहेको छ ।
ठूला दलहरूले भावी प्रधानमन्त्रीको अनुहार तोकेर चुनावमा जाने प्रवृत्ति बढिरहेका बेला राप्रपाले पनि लिङदेनलाई अगाडि सार्ने तयारी गरेको पार्टी स्रोतको भनाइ छ । दुई अतिवादी धारको बीचमा आफूलाई ‘मध्यमार्गी विकल्प’ का रूपमा प्रस्तुत गर्दै राप्रपाले संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने दाबी गर्न थालेको छ ।
पार्टीका एक पदाधिकारी भन्छन्, “अहिले सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर चुनावपछि बन्ने सरकारको नेतृत्व राजेन्द्र लिङदेनले गर्ने सम्भावना बलियो छ।”
राप्रपाले एक्लै बहुमत ल्याउने अपेक्षा नराखे पनि संसदमा निर्णायक हैसियत बनाउने दाबी भने स्पष्ट रूपमा गरेको छ । गठबन्धन सरकारको अवस्था बनेमा नेतृत्व आफ्नो हातमा लिन सकिने विश्वास पार्टीभित्र व्यापक छ ।
पार्टीले चाँडै नै लिङदेनलाई औपचारिक रूपमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरिरहेको बताइन्छ । अहिले रास्वपाबाट बालेन्द्र साह, एमालेबाट केपी शर्मा ओली, श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ र कांग्रेसबाट गगन थापालाई भावी प्रधानमन्त्रीका आकांक्षीका रूपमा हेरिँदै आएको छ ।
राप्रपा र लिङदेनको बढ्दो आत्मविश्वासका पछाडि दुई प्रमुख कारण देखिन्छन् । पहिलो, पछिल्लो समय विभिन्न राजावादी समूह र शक्तिहरू राप्रपामा समाहित भइरहेका छन् । ठूलो राजावादी दल राप्रपा नेपालको विलयसँगै कमल थापाले लिङदेनको नेतृत्व स्वीकार गरेका छन् । साथै डा. सुरेन्द्र भण्डारी, स्वागत नेपालजस्ता चर्चित व्यक्तित्व पार्टीमा भित्रिँदा कार्यकर्ता पंक्तिमा उत्साह थपिएको छ ।
दोस्रो कारण, देशमा राजसंस्थाप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको पार्टी नेतृत्वको बुझाइ हो । राजसंस्था पुनर्स्थापना, संघीयता र धर्मनिरपेक्षता खारेजीजस्ता एजेन्डामा बलियो जनमत बनिरहेको विश्वास राप्रपाले गरेको छ । यी मुद्दा स्पष्ट रूपमा बोक्ने एकमात्र दल भएकाले पार्टीको राजनीतिक महत्वाकांक्षा थप बढेको नेताहरू बताउँछन् ।
राप्रपाका नेताहरू हाल आ–आफ्ना निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनमा व्यस्त छन् । सबै नेताहरू काठमाडौं फर्किएपछि विस्तृत चुनावी रणनीति बनाइने र जित सम्भावना भएका क्षेत्रको तथ्यांक विश्लेषण गर्न प्राविधिक टोली गठन गरिने पार्टीको योजना छ ।
कार्यकर्ता पंक्तिमा थप उत्साह भर्न लिङदेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्नुपर्ने धार पार्टीभित्र बलियो बन्दै गएको छ । पछिल्लो समय आन्तरिक विवाद मत्थर भएसँगै पार्टी एकढिक्का भएर चुनावमा होमिने वातावरण बनेको नेताहरूको भनाइ छ ।
लिङदेन स्वयं झापा–३ बाट उम्मेदवार बनेका छन् । २०७९ सालको चुनावमा उनले यही क्षेत्रबाट कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए । यसपटक सिटौला चुनावी दौडमा नरहेकाले र अन्य दलबाट पनि बलियो उम्मेदवार नआएकाले लिङदेनको जितको सम्भावना बलियो रहेको राप्रपाको आकलन छ ।
२०७० सालदेखि संसदीय राजनीतिमा सक्रिय लिङदेनले तीन चुनावमध्ये दुई जित हासिल गरिसकेका छन् । २०७८ मंसिरमा अध्यक्ष निर्वाचित भएपछि उनले पार्टीलाई १ सिटबाट १४ सिटसम्म पुर्याउन सफल भए, जसले राप्रपाभित्र उनको वर्चस्व झनै बलियो बनाएको छ । पार्टीभित्रका असन्तुष्टि साम्य हुँदै गएको र नेतृत्वप्रति विश्वास बढेको निष्कर्ष राप्रपाको छ ।
प्रकाशित मिति: बुधबार, माघ ८, २०८२