काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई कमजोर बनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थहरूलाई रोक्न नसकिएको स्वीकार गरेका छन्। शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उनले कांग्रेस पछिल्ला दिनमा देखिएका र नदेखिएका अनेक अन्तरविरोधबाट गुज्रिनुपरेको उल्लेख गरेका छन्।
राजधानी केन्द्रित विभिन्न आन्तरिक–बाह्य गतिविधिले कांग्रेसलाई कमजोर पार्ने प्रयास भएको भन्दै कोइरालाले ती स्वार्थहरूलाई रोक्न आफूहरू असफल भएको बताएका छन्। “कांग्रेस एक भएर अगाडि बढोस् भन्ने सबैको इमानदार चाहना हुँदाहुँदै पनि हामी त्यसमा सफल हुन सकेनौँ,” उनले अपिलमा उल्लेख गरेका छन्।
पार्टीभित्र एकता कायम गर्न गरिएको प्रयास अपेक्षित नतिजामा नपुगेको स्वीकार गर्दै कोइरालाले दोषारोपणमा नजाने स्पष्ट पारेका छन्। कसले गल्ती गर्यो भन्ने बहसले राष्ट्रिय राजनीतिलाई थप धूमिल बनाउने भएकाले त्यसतर्फ आफू जान नचाहेको उनको भनाइ छ। “हामी सबै कतै न कतै चुकेका छौँ भन्ने कुरा स्वीकार गर्न मलाई कुनै हिचकिचाहट छैन,” उनले भनेका छन्।
बीपी कोइरालाको राजनीतिक दर्शन स्मरण गर्दै कोइरालाले कांग्रेस एकढिक्का हुन नसक्नु पनि नियतिको कठोर सत्यका रूपमा बुझ्नुपर्ने बताएका छन्। विगतमा केही व्यक्ति र समूहले बीपी कोइरालालाई छाडेर गएको इतिहास स्मरण गर्दै उनले वर्तमान अवस्थालाई त्यसैको निरन्तरता भनेका छन्।
आसन्न निर्वाचनमा कांग्रेसका सामु आठ दशक लामो इतिहास र गौरव जोगाउने गम्भीर जिम्मेवारी रहेको उल्लेख गर्दै उनले संगठनात्मक ऊर्जा प्रस्फुटन नभएसम्म त्यो सम्भव नहुने बताएका छन्। अग्रज नेताहरूले सुम्पेको जिम्मेवारी पूरा गर्न पार्टीलाई फेरि चलायमान बनाउनुपर्ने उनको जोड छ।
पार्टी सुधारका प्रक्रिया रोकिँदैनन् भन्दै कोइरालाले सबैलाई कांग्रेसमा फर्कन आह्वान गरेका छन्। “हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ कसैको हार–जित होइन, सबैका लागि विन–विनको अवस्था सिर्जना हुन सक्छ,” उनले भनेका छन्।
छोटो समय भए पनि जनताको घरदैलोमा पुगेर भोट माग्ने कांग्रेसको चुनावी अभियानमा आफू यथासम्भव सहभागी हुने प्रयास रहने कोइरालाले बताएका छन्।
प्रकाशित मिति: बिहीबार, माघ २, २०८२