काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफ्नो पार्टी नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको भन्ने चर्चालाई पूर्ण रूपमा भ्रामक र असत्य भएको स्पष्ट पारेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै घिसिङले विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यममा फैलाइएको उक्त प्रचार निराधार रहेको बताएका हुन्। उनले आफू अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीको नाम जोडेर अन्य दलहरू—विशेषगरी नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको भन्ने हल्ला फैलाइएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।
घिसिङले लेखेका छन्, ‘सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो।’
उनले उज्यालो नेपाल पार्टी कुनै पनि राजनीतिक दलसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट पारेका छन्। साथै, यस्ता निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेका छन्।
राजनीतिक वृत्तमा पछिल्लो समय पार्टी एकता र ध्रुवीकरणका चर्चा बढिरहेका बेला घिसिङको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकता गरेका थिए। तर एकतापछि १२ दिनमै पार्टीबाट बाहिरिएपछि उनको राजनीतिक यात्राबारे विभिन्न अड्कलबाजी हुँदै आएको थियो।
घिसिङको पछिल्लो स्पष्टोक्तिले उज्यालो नेपाल पार्टी स्वतन्त्र राजनीतिक पहिचानसहित अगाडि बढ्ने रणनीतिमा रहेको सन्देश दिएको छ।
प्रकाशित मिति: बुधबार, माघ १, २०८२