काठमाडौं । जेनजी आन्दोलनका कारण विस्थापित भएका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा भदौ २३ र २४ गते भएका घटनाहरू स्वतःस्फूर्त नभई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्। जेनजी आन्दोलनपछि पहिलोपटक अन्तर्राष्ट्रिय मिडियामा अन्तर्वार्ता दिँदै ओलीले बाह्य प्रभाव र संगठित रणनीतिका कारण देशलाई अस्थिर बनाउने प्रयास गरिएको बताएका हुन्।
रुसबाट प्रसारण हुने अन्तर्राष्ट्रिय च्यानल आरटी इन्टरनेसनल (आरटी इन्डिया) की प्रमुख रुनझुन शर्मासँगको अन्तर्वार्तामा ओलीले नेपालमा देखिएको आन्दोलनको ढाँचा बंगलादेश, श्रीलंका लगायत अन्य देशहरूमा देखिएका प्रदर्शनसँग मिल्दोजुल्दो रहेको उल्लेख गरे। उनका अनुसार यस्ता गतिविधिहरू युवाको स्वाभाविक आक्रोश मात्र नभई निश्चित शक्ति र स्वार्थ समूहद्वारा निर्देशित थिए।
ओलीले सामाजिक सञ्जाललाई मुख्य हतियार बनाएर युवालाई भावनात्मक रूपमा उक्साइएको दाबी गर्दै भने, “यो केवल सडकको आन्दोलन थिएन, यो विचार र मनोविज्ञानमाथिको हमला थियो।” उनले प्रदर्शनका क्रममा स्कूल बसमार्फत पोशाकसहितका विद्यार्थीहरू ल्याएर मानव ढालको रूपमा प्रयोग गर्ने प्रयास भएको र प्रदर्शनकारीहरू फर्किएपछि संसद भवन भत्काउने तथा जलाउने उद्देश्यसहित केही समूह घुसेको आरोप लगाए। त्यस क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा मानवीय क्षति भएको उनको भनाइ छ।
यद्यपि ओलीले कुनै पनि विदेशी शक्तिको नाम किटान नगरे पनि यस्ता घटनाहरू विश्वका विभिन्न देशमा एकै किसिमले भइरहेका तथ्यले गहिरो अध्ययन आवश्यक रहेको बताए। पछिल्ला वर्षहरूमा विश्व व्यवस्था कमजोर बन्दै गएको र साझा अन्तर्राष्ट्रिय संस्थाहरू प्रभावहीन भएकोमा उनले चिन्ता व्यक्त गरे। भेनेजुएलाको उदाहरण दिँदै ओलीले ‘ग्लोबल अर्डर’ भत्किँदै गएको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
‘चीनसँगको निकटताका कारण पश्चिमी शक्तिहरूले जेनजी विद्रोह उकासेको हो?’ भन्ने प्रश्नमा ओलीले आफू विश्व शान्ति र स्थिर विश्व व्यवस्थाको पक्षमा रहेको स्पष्ट पारे। उनले चीनसँग मित्रवत सम्बन्ध हुनु स्वाभाविक भएको, भारतसहित अन्य मित्र राष्ट्रहरूसँग पनि नेपालका सम्बन्ध सौहार्दपूर्ण रहेको बताए। “हाम्रो कोही शत्रु छैनन्, सबै हाम्रा मित्र हुन्,” ओलीले भने।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२