काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक पोस्टमार्फत ट्रम्पले यस्तो दाबी गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चर्चा र विवाद उत्पन्न भएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा सार्वजनिक गरेको पोस्टमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ शीर्षकसहित आफ्नो तस्बिर प्रयोग गरिएको छ। उक्त सामग्री विकिपिडियाको आधिकारिक पृष्ठमा समेत देखिएको छ, जहाँ ट्रम्पलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिको रूपमा उल्लेख गरिएको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादूरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरेपछि उत्पन्न राजनीतिक संकटको पृष्ठभूमिमा ट्रम्पको यो दाबी आएको हो। मादूरोको पक्राउपछि भेनेजुएलामा सत्ता संक्रमणलाई लिएर अन्योल बढेको छ।

यसैबीच, भेनेजुएलाको सर्वोच्च न्यायाधिकरणले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न निर्देशन दिएको बताइएको छ। तर, ट्रम्पले भने संक्रमणकालभरि संयुक्त राज्य अमेरिकाले नै भेनेजुएलाको प्रशासनिक नियन्त्रण सम्हाल्ने दाबी गर्दै आएका छन्।
जनवरी ३ मा मादूरोको पक्राउपछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भेनेजुएलाको शासन अस्थायी रूपमा अमेरिकाको हातमा रहने बताएका थिए। त्यसको भोलिपल्ट, जनवरी ४ मा उनले भेनेजुएला संयुक्त राज्य अमेरिकाको मातहतमा रहेको दाबीसमेत गरेका थिए।
यसबाहेक, ट्रम्पले अमेरिकी सिनेटर मार्को रुबियोलाई ‘क्युबाको राष्ट्रपति बनाउने’ विषयलाई मजाकका रूपमा प्रस्तुत गर्दै अर्को विवादास्पद टिप्पणीसमेत गरेका छन्।
प्रकाशित मिति: सोमबार, पुस २८, २०८२