काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद देखिएको बेला गगन थापा र विश्वप्रकाश शर्मा पक्षले महाधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले नै गर्ने विश्वास व्यक्त गरेको छ।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसभित्र पक्ष–विपक्ष स्पष्ट देखिएको छ। यद्यपि विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने नेताहरूले सभापति देउवा नै उद्घाटन समारोहमा सहभागी हुनेमा आशावादी रहेको बताएका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षको तर्फबाट बोल्दै नेता जगदीश्वरनरसिंह केसीले सभापतिलाई महामन्त्रीहरूले औपचारिक पत्र पठाइसकेको जानकारी दिए।
केसीले भने, “सभापति देउवा स्वयं उद्घाटन समारोहमा उपस्थित हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ। महामन्त्रीहरूले पत्र दिइसक्नुभएको छ र उहाँ नै आएर उद्घाटन गर्नुहुन्छ भन्नेमा विशेष महाधिवेशनमा हस्ताक्षर गरेका सबै विश्वस्त छौँ।”
कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र पुस २७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२