काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा एक्लाएक्लै लामो भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास पुगेका ओलीले प्रधानमन्त्री कार्कीसँग करिब तीन घण्टा ‘वान टु वान’ छलफल गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए। उनी आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्रै साथमा लिएर प्रधानमन्त्रीसँग भेट्न गएका थिए। चुनाव नजिकिँदै गर्दा भएको यो लामो संवादलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
भदौ २३ को जेनेजी आन्दोलनपछि ओली बालुवाटारबाट बाहिरिएका थिए भने त्यसपछि सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन्। आन्दोलनपछि सत्ता समीकरणमा आएको परिवर्तनका कारण दुबै नेताबीचको यो भेटलाई विशेष चासोका साथ हेरिएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पुस ८ गते शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पहिलोपटक संयुक्त भेटवार्ता भएको थियो।
जेनेजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले सुरुका केही महिना तीन शीर्ष नेतासँग भेटघाट गर्न चासो नदेखाएकी थिइन्। तर, त्यसले चुनावी वातावरण बन्न नसक्ने भन्दै आलोचना बढेपछि उनी वार्ताका लागि तयार भएकी हुन्।
शीतल निवासको भेटपछि बालुवाटारमै तीन शीर्ष नेताबीच छलफल गर्ने सहमति बनेको थियो। सोही सहमतिअनुसार पुस १२ गते प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डले बालुवाटारमा संयुक्त वार्ता गरेका थिए।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२