काठमाडौं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध भई अन्तरिम सरकारमा सहभागी भएका मन्त्रीहरूलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् । उनले सरकारमा बसेर खुलेआम राजनीतिक गतिविधिमा संलग्न मन्त्रीहरूको उपस्थितिले निष्पक्ष निर्वाचन असम्भव हुने चेतावनी दिएका छन् ।
आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले चुनावी सरकारमा सहभागी भएका केही मन्त्रीहरू आफ्नो पदको मर्यादा र राजनीतिक नैतिकता विपरीत दलगत गतिविधिमा सक्रिय रहेको आरोप लगाए । उनले यस्ता मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्ने र स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले बिना ढिलाइ बर्खास्त गर्नुपर्ने स्पष्ट धारणा राखे ।
“सरकारमा बसेर पार्टी गठन गर्ने, चुनावी रणनीति बनाउने र प्रधानमन्त्री बन्ने सपना देख्नेहरूलाई कुर्सीमा बसिरहने कुनै नैतिक अधिकार छैन,” महासेठले भने, “यदि चुनाव लड्ने इच्छा छ भने सरकार छाडेर जनतामाझ जानुपर्छ।”
महासेठले सरकारले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन गराउने वातावरण तयार गर्न नसकेको जिकिर गरे । बरु सरकार आफैँ निर्वाचन प्रक्रिया बिथोल्ने दिशातर्फ अघि बढिरहेको आरोप उनले लगाए । सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।
उनले पछिल्लो समय भएको जेन–जी आन्दोलनका क्रममा लुटिएका हजारौँ हतियार अझै फिर्ता नभएको र भागेका कैदीहरू नियन्त्रणमा नआएको अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे । यस्तो असुरक्षित अवस्था रहँदा देशभर भयरहित, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव छ भन्ने विश्वास आफूलाई नरहेको महासेठले बताए ।
महासेठका अनुसार सरकारले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन असफल हुँदा आम नागरिकमा त्रासको वातावरण सिर्जना भएको छ । “हातहतियार बाहिर छन्, कैदी फरार छन्, यस्तो अवस्थामा कसरी निष्पक्ष चुनाव सम्भव हुन्छ ?” उनले प्रश्न गरे ।
उनले सरकारलाई तत्काल आफ्नो भूमिका सच्याउन, राजनीतिक तटस्थता कायम गर्न र निर्वाचनको विश्वसनीयता सुनिश्चित गर्न गम्भीर कदम चाल्न आग्रह गरे । अन्यथा मुलुक अझ ठूलो राजनीतिक संकटतर्फ धकेलिने महासेठको चेतावनी थियो ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०८२