काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना गर्ने तयारी स्वरूप पक्षधर समूहले काठमाडौंको भृकुटीमण्डपमा हल बुकिङ गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार बुधबार भृकुटीमण्डप पुगेर हल बुकिङ गरिएको हो। उनले अनलाइनखबरसँग भनिन्, “हिजो हल बुक गरिसकिएको छ, आज अन्य प्रशासनिक प्रक्रिया मिलाउने काम भइरहेको छ।”
कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले नियमित महाधिवेशन समयमै सम्भव नदेखिएपछि विशेष महाधिवेशन अपरिहार्य भएको धारणा राख्दै आएका छन्।
यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन बोलाउन औपचारिक माग गरेका थिए। नियमित महाधिवेशनको मिति तोकिए पनि त्यसअनुसार अघि बढ्न नसक्ने अवस्था बनेपछि विशेष महाधिवेशनको दबाब बढेको हो।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२