प्रविन नेपाल
नेपाल आज एउटा यस्तो मोडमा उभिएको छ, जहाँ प्रश्न सत्ता कसको हातमा जान्छ भन्ने होइन, देश नै सुरक्षित रहन्छ कि रहँदैन भन्ने हो। पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक उथलपुथल कुनै सामान्य सत्ता–परिवर्तनको अभ्यास होइन; यो नियोजित अस्थिरताको परियोजना हो। यो परियोजनाको नाम हो—“परिवर्तन”, तर यसको उद्देश्य परिवर्तन होइन, नियन्त्रण हो।
कसैले प्रश्न गर्छ—के कांग्रेस र कम्युनिष्टहरूले देश बिगारेनन्? अवश्य बिगारे। उनीहरू निर्दोष छैनन्। उनीहरू अवसरवादी थिए, सत्ता–केन्द्रित थिए, कतिपय अवस्थामा विदेशी दबाबमा झुके पनि। तर एउटा सत्य स्वीकार गर्नैपर्छ—उनीहरूले नेपाललाई पूर्ण रूपमा विदेशी शक्तिको कठपुतली बनाएका थिएनन्। निर्णायक क्षणमा उनीहरू आफ्नै सीमाभित्र उभिन्थे, आफ्नै जनतासँग जवाफदेही हुन्थे।
तर आज जुन “नयाँ शक्ति” को कथा बेचिँदैछ, त्यो कथा पुरानाभन्दा धेरै खतरनाक छ। किनकि यो विचारधाराबाट होइन, डिजाइनबाट जन्मिएको छ। यो जनताको स्वाभाविक विद्रोह होइन, नियोजित असन्तोष हो। यसको स्क्रिप्ट नेपालमा लेखिएको होइन, नेपाल बाहिर डिजाइन गरिएको छ।
आज देशलाई भनिँदैछ—पुराना सबै फाल, नयाँलाई स्वीकार गर। तर कसले तयार गर्यो यो “नयाँ”? कुन प्रयोगशालामा तयार भए यी पात्रहरू? किन अचानक केही अनुहारहरू ‘राष्ट्र उद्धारकर्ता’ को रूपमा प्रस्तुत गरिए? किन उनीहरूका गल्तीहरू राष्ट्रवादको खोलले ढाकिन्छन्? यी प्रश्न सोध्नु देशद्रोह होइन, चेतना हो।
हामीले बिर्सनु हुँदैन—केपी ओलीको पालामा नेपालले भारत, चीन र पश्चिमबीच सन्तुलन कायम गर्ने प्रयास गरेको थियो। त्यो पूर्ण थिएन, तर स्वाधीनताको अभ्यास थियो। त्यही सन्तुलन धेरैलाई अपाच्य भयो। परिणामस्वरूप नेपालभित्रै नयाँ एजेन्टहरू तयार गरिए—जो नेपाली अनुहारमा विदेशी स्वार्थ बोकेर हिँड्छन्।
आज एउटा कथा फैलाइँदैछ—काठमाडौंको एक मेयरलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने, केही मिडिया–हिरोहरूलाई “परिवर्तनका वाहक” बनाउने, र देशलाई भावनात्मक रूपमा ध्रुवीकरण गर्ने। यो कुनै संयोग होइन। यो योजनाबद्ध राजनीतिक इन्जिनियरिङ हो।
युक्रेनमा जे भयो, त्यो केवल युद्ध थिएन; त्यो प्रयोग थियो। एउटा देशलाई कसरी टुक्र्याउने, कसरी जनतालाई आफ्नै विरुद्ध उभ्याउने, कसरी ‘उद्धारकर्ता’ को नाममा बाह्य नियन्त्रण स्थापित गर्ने—त्यसको प्रयोगशाला थियो युक्रेन। आज नेपालमा पनि त्यही स्क्रिप्टको अभ्यास हुँदैछ।
हिजोका आन्दोलनहरूमा सडकमा उत्रिएका युवाहरू देशभक्त थिए। उनीहरू भ्रष्टाचार, अन्याय र निराशाविरुद्ध उठेका थिए। तर त्यो आन्दोलनको नेतृत्व कसले गर्यो? दिशा कसले तय गर्यो? जब आन्दोलनलाई नियन्त्रण गर्ने हात बाहिरबाट आउँछ, तब त्यो आन्दोलन जनताको हुँदैन, परियोजनाको हिस्सा बन्छ।
त्यही क्रममा हामीले देख्यौं—शान्तिपूर्ण आवाजलाई दमन गरियो, प्रश्न गर्नेहरूलाई बदनाम गरियो, र सडकमा राज्यसत्ता होइन, अराजकता नाच्न थाल्यो। आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति जलाइयो, नागरिक त्रसित भए, र कतिपय स्थानमा त आफ्नै नागरिकमाथि बुट बजारिएको दृश्य पनि देखियो। त्यो बुट कुनै एक व्यक्तिको थिएन, त्यो प्रणालीको थियो—जो जनताको टाउकोमा टेक्दै अघि बढ्न चाहन्थ्यो।
के त्यो सबै केवल ८४ सालको निर्वाचन एक वर्ष अगाडि गर्नकै लागि थियो? के यति ठूलो बलिदान केवल मितिको लागि आवश्यक थियो? यदि निर्वाचन नै समाधान हो भने, त्यो शान्तिपूर्ण रूपमा पनि हुन सक्थ्यो। तर यहाँ उद्देश्य निर्वाचन थिएन, अस्थिरता थियो। उद्देश्य सत्ता थिएन, नियन्त्रण थियो।
आज फेरि त्यही गल्ती दोहोर्याउने तयारी हुँदैछ। भनिँदैछ—निर्वाचन नै समाधान हो। तर कुन निर्वाचन? कुन वातावरणमा? कुन भरोसामा? जब राज्य संरचना नै विदेशी प्रभावमा छ, जब निर्णय बाहिरबाट निर्देशित हुन्छ, तब चुनाव केवल नाटक हुन्छ।
त्यसैले अब स्पष्ट भन्नैपर्छ—देशलाई अहिले चुनाव होइन, उपचार चाहिएको छ। यो रोग सत्ता परिवर्तनले निको हुँदैन। यसलाई निको पार्न राष्ट्रिय आत्मसम्मान चाहिन्छ, वैचारिक स्पष्टता चाहिन्छ, र देशभक्त शक्तिहरूको एकता चाहिन्छ।
आज आवश्यकता छ—कांग्रेस, एमाले, माओवादी, स्वतन्त्र, सबैभित्र रहेका देशभक्त तत्त्वहरू एक ठाउँमा उभिने। पार्टीभन्दा माथि देश राख्ने। विदेशी एजेन्टहरूलाई अस्वीकार गर्ने। राष्ट्रिय सहमतिको बाटो खोल्ने। यदि हामीले आज पनि आँखा चिम्ल्यौं भने भोलि हामीले चुनाव जित्लौँला, तर देश हार्नेछ। आज निर्णय गर्ने घडी हो—हामी इतिहासका साक्षी बन्छौँ कि इतिहासका अपराधी?
त्यसैले निष्कर्ष स्पष्ट छ—८४ को निर्वाचन ८२ मै गर्न मात्रै यत्रो ध्वंस गरिएको होइन, यो देशलाई नयाँ ढङ्गले नियन्त्रण गर्ने परियोजनाको हिस्सा हो।
र यसको प्रतिकार चुनावबाट होइन, राष्ट्रवादी चेतनाबाट मात्र सम्भव छ। देश बचाउने बेला आएको छ। सत्ता होइन, स्वाधीनता रोज्ने बेला आएको छ।
नेपाल, राष्ट्रिय स्वतन्त्र नागरिक समाजका महासचिव हुनुहुन्छ।
प्रकाशित मिति: बुधबार, पुस १६, २०८२