काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूची सचिवालय बैठकमा प्रस्तुत गरेका छन्। प्रस्तुत सूचीअनुसार खुला समूहमा गुरु बराललाई पहिलो नम्बरमा राखिएको छ।
हालै सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार बनेका बराल पराजित भए पनि ओलीले उनलाई समानुपातिक सूचीको शीर्ष स्थानमा समेटेका हुन्। उनी केन्द्रीय सदस्य पदमा पनि निर्वाचित हुन सकेका थिएनन्।
महिला समूहअन्तर्गत पार्टी सचिव पद्मा अर्याललाई पहिलो नम्बरमा राखिएको छ। अर्यालसँगै शान्ता चौधरी र कोमल वलीको नाम पनि समानुपातिक सूचीमा समावेश गरिएको स्रोतले जनाएको छ।
एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै समानुपातिक उम्मेदवारको टुंगो लगाउने प्रक्रिया तीव्र बनाएको छ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०८२