काठमाडौं । देशको राजदूतको काम देशको प्रतिनिधित्व गर्दै आफ्नो देश र त्यहाँका जनताको हितमा क्रियाशील हुनु हो । जसका माध्यमबाट देशको प्रतिनिधित्व भइरहेको हुन्छ । खासगरी दुई देशबीचको सम्बन्ध मजबुत बनाउने मात्र होइन, आफ्नो देशको हितअनुकूल आफुलाई सधैं समर्पित गराउनु हो । तर यसरी देशले आफ्नो आधिकारिक प्रतिनिधि भन्दै मान सम्मान सहित राजदूत बनाएर पठाएका व्यक्ति देशको होइन कुनै मेनपावर कम्पनीको एजेन्टका रुपमा काम गरिरहेका छन् भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । सुन्दा तीतो लागेपनि यो यथार्थ घटना हो । युनाइटेड अरब इमिरेट्सस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्री आजभोलि देश र जनताको हितमा होइन, केही मेनपावर कम्पनीको एजेन्टको रुपमा दिनरात सक्रिय रहेका भेटिन्छन् ।
नेपाली श्रमबजारको मुख्य गन्तव्य मध्येको एक दुबईमा रहेको यो नेपाली दूतावासले वास्तवमा नेपाली कामदारको समस्या समाधान गर्ने र उनीहरूको हितमा आफुलाई मुख्य रुपमा केन्द्रीत गर्नुपर्ने हो । त्यसबाहेक राजदूतका रुपमा अरु परिभाषित जिम्मेवारी त उनका हुने नै भए । तर राजदूत क्षेत्री त्यस्ता राजकीय जिम्मेवारीमा होइन, आफ्नो व्यक्तिगत हितका लागि त्यहाँस्थित विभिन्न कम्पनीले दिएका डिमान्डहरू नेपालमा आफूसँग नजिक रहेका मेनपावर कम्पनीलाई बेच्दै मोटो रकम कमाउने अभियानमा सक्रिय रहेको जानकारी प्राप्त भएको छ ।
ठूलो संख्यामा डिमान्डहरू आए त्यो कम्पनीको वास्तविकता के हो ? त्यहाँ नेपाली कामदार पठाउँदा भोलि के समस्या आउन सक्छन् भन्नेसम्म खोजबिन नगरी उनले सिधै आफूसँग नजिक व्यवसायीलाई त्यो डिमान्ड बेच्ने र काम गर्न सिफारिस गर्ने गरेका छन् । त्यसै मध्ये राजदूत क्षेत्रीले पठाएको डिमान्ड अनुसार उनकै सिफारिसमा काम गरेको नीलकमल मेनपावरले पठाएका हजारौं मान्छे दुबईमा अलपत्रको अवस्थामा पुगेका छन् । दुबईस्थित प्रोफाइल नामक एक सप्लाई कम्पनीबाट आएको डिमान्ड राजदूत क्षेत्रीले नीलकमल मेनपावरलाई बेच्नु मात्र होइन, त्यसमा मान्छे पठाउँदा राम्रो हुने आश्वासन पनि उनले दिए ।
राजदूतको सिफारिस बमोजिम नीलकमलले यहाँ नेपालमा नेपाली युवाहरुलाई आकर्षक तलब सुविधा र कामको झाँसा दिएर पत्रिकामा विज्ञापन प्रकाशित गर्यो । आकर्षक विज्ञापन देखेर सोझासाझा नेपाली युवाहरुको ताँती लाग्यो । र प्रत्येक एक जनासँग ३ लाख रुपैयाँका दरले असुल गर्दै हजारौं जनालाई नीलकमल नामक मेनपावर कम्पनीले दुबईस्थित सो प्रोफाइल नामक सप्लाई कम्पनीमा मान्छे पठायो । त्यहाँ गएका ती हजारौं मानिसहरू यतिबेला अलपत्र परेको समाचार सार्वजनिक भएको छ । उनीहरू आक्रोशित भएर हुडदंगामा समेत संलग्न भएको र ती मध्ये केही घाइते भएको, केहीलाई दुबई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जानकारी समेत प्राप्त भएको छ ।
नीलकमल र यो घटना मात्र होइन, राजदूत क्षेत्री दुबईमा पुग्ने बित्तिकैदेखि नेपालका मेनपावरसँग मिलेर उनीहरूको मार्केटिङ गर्ने काम गरिरहेको उनलाई नजिकबाट चिनेका अर्को जनाले आजको न्युजलाई बताएका छन् ।
राजदूत क्षेत्रीले यो मात्रै होइन उनी त्यहाँ राजदूतको रुपमा प्रवेश गरेदेखिनै डिमान्डहरू बेच्ने काम गरिरहेका छन्। खासगरी उनले दूतावासमा एउटा अनलाइन फर्म निर्माण गरी मेनपावरहरूलाई आफू मार्फत जान बाध्य बनाएका छन्। कुनैपनि मेनपावरले आफैंले मार्केटिङ गरेर मात्रै डिमान्ड पाउने अवस्था छैन। युएईस्थित कम्पनीसँग डिमान्ड लिएर उनीहरू दूतावासको स्वीकृतिको लागि जानुपर्ने हुन्छ। जब त्यहाँ पुगिन्छ उनले अड्काएर राखिदिन्छन् र त्यसपछि सुरु हुन्छ उनको बार्गेनिङको जालो। तब उनले अनेक बहानाबाजी गरेर अड्काउने मात्रै होइन, व्यवसायीले लिएर आएका डिमान्डहरूमा ‘तपाईँ यति मात्रै राख्नुस्, बाँकी अरुलाई’ भन्दै कोटा छुट्याउँछन्। र त्यसरी उनले दोहोरो फाइदा लिन्छन्।
पहिलो, उनको घुसको श्रृंखला सुरु हुन्छ जुन मेनपावरले डिमान्ड लिएर गएको हो, उसलाई स्वीकृति दिए बापत। र त्यसपछि उनले उसैसँग काटेर अर्को मेनपावरलाई डिमान्ड दिन्छन्, त्यो भनेको त सिधै बेच्ने हो। त्यसबापत त उनले मोटो रकम असुल्ने भए नै। त्यसका लागि उनले नेपालमा रहेका केही मेनपावरलाई छुट्याएका छन्। जुनसुकै डिमान्ड पनि उनले तिनै मेनपावरलाई दिने गरेका छन्।
निलकमलमार्फत अहिले भइरहेको घटना र उनका निरन्तरका गतिविधिबारे आजको न्युजले प्रतिकृया लिने निरन्तर प्रयास गरिएको थियो। उनको वाट्सएप नम्बरमा निरन्तर सम्पर्क गर्दा उनले म्यासेजमार्फत आफू अरुनै कार्यक्रममा निरन्तर व्यस्त भएकाले यसबारे आफूलाई केही जानकारी नहुने प्रतिकृया दिए। र उनले लेबरको विषयमा ‘के बुझ्ने भए कन्सुलरलाई बुझ्न’ भन्दै आफूलाई त्यसबारे केही थाहा नहुने छोटो प्रतिकृया दिए ।
तर विषय दूतावाससँग सम्बन्धित थिएन, त्यो विषय स्वयं राजदूतसँग जोडिएको थियो। हामीले त्यही भन्यौँ तर पनि उनले आफूलाई बोल्ने पनि फुर्सद नहुने जवाफ फर्काए। आफू कार्यरत रहेको देशमा भइरहेको समस्या बारे अनविज्ञ रहेका राजदूत क्षेत्री के कस्तो महत्वपूर्ण विषयमा व्यस्त थिए त्यसबारे भने केही बताउन चाहेनन् । यो प्रारम्भिक विषयको उठान मात्रै गरिएको छ। उनले युएईमा चलाईरहेको धन्दा बारे आजको न्यूजले श्रृंखलाबद्ध सामग्रीहरू प्रकाशन प्रसारण गर्दै जानेछ।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२