ललितपुर । देशमा शान्ति, समृद्धि र स्थायित्वको कामना गर्दै ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ऐतिहासिक शंखादेवी मन्दिरमा सोमबार विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ। शंका र संकट निवारण गर्ने देवीको रूपमा प्रसिद्ध यो मन्दिरमा आज दीप प्रज्वलन, शान्तिपाठ र विशेष संकल्प कार्यक्रम गरिएको हो।
चार सय वर्षभन्दा पुरानो इतिहास बोकेको शंखादेवी मन्दिरमा यस अवसरमा नवरात्रको सुरुवातसँगै नित्य पूजाको परम्परागत शुभारम्भ पनि गरिएको छ। शंखादेवी मन्दिर संरक्षण संस्थाले स्थापना गरेको अक्षयकोषको आम्दानीबाट अबदेखि दैनिक पूजा सञ्चालन हुने जानकारी संस्थाका अध्यक्ष जयरथ खड्काले दिए।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयकी उपप्राध्यापक एवं श्रीमद्भागवत वाचिका सविना नेपालले अक्षयकोषमा योगदान गर्ने २५ भन्दा बढी श्रद्धालु भक्तजनलाई सम्मान गरेकी थिइन्।
मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्वबारे जानकारी दिंदै सीआईएनका प्रमुख दीपक आचार्यले भने, “विष्णुको शंखको जिम्मा लिएर राक्षसहरूसँगको युद्धमा विजय दिलाउन शंखादेवी माताले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् भन्ने किंवदन्ती छ। त्यसैले यस मन्दिरको धार्मिक महत्त्व अत्यन्त उच्च छ।”
लुभुस्थित महालक्ष्मी र गोदावरीको विशंखुसँग सम्बन्ध जोडिएको यो मन्दिरलाई लक्ष्मी र विष्णुको संगमस्थलका रूपमा मानिन्छ। संस्थाका उपाध्यक्ष वेदबहादुर खड्काका अनुसार देवीलाई शंका–संकट निवारण गर्ने मात्र नभई समृद्धि प्रदान गर्ने शक्तिका रूपमा पनि पूजिन्छ।
धार्मिक महत्त्वसँगै रमणीय प्राकृतिक वातावरणमा अवस्थित यस मन्दिरलाई अझै व्यवस्थित ढंगले प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता रहेको आयोजकहरूले बताएका छन्। उनीहरूका अनुसार शंखादेवी माताको धार्मिक आस्था मात्र होइन, सांस्कृतिक र ऐतिहासिक पर्यटन गन्तव्यका रूपमा पनि यो क्षेत्रलाई विकसित गर्न सकिने सम्भावना छ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२