काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको मुख्य लक्ष्य आगामी निर्वाचनमा बहुमत हासिल गरी पहिलो शक्ति बन्ने रहेको बताएका छन्।
स्याङ्जा–काठमाडौं सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बहुमत प्राप्त भएपछि कांग्रेस सरकारमा नजाने भन्ने प्रश्नै नउठ्ने स्पष्ट पारे। “बहुमत ल्यायौँ भने सरकार चलाउँछौँ, विगतका अनुभवबाट सिकेर गल्ती सच्याउँदै देश बनाउने दिशामा अघि बढ्छौँ,” उनले भने।
पौडेलले ठूलो पार्टी बनेको अवस्थामा सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने दाबी गरे। “यदि हामी ठूलो पार्टी भयौँ र नेतृत्व गर्न नपाए सरकारमा जाँदैनौँ। तर, ठूलो शक्ति बनेपछि नेतृत्वको दाबी अवश्य गर्छौँ,” उनले उल्लेख गरे।
उनले विगतमा ठूलो दल हुँदाहुँदै पनि सरकारको नेतृत्व नपाउँदा दोस्रो वा तेस्रो दलको नेतृत्वमा सरकारमा सहभागी हुनु कांग्रेसको कमजोरी भएको स्वीकार गरे। अब सत्ता प्राप्तिका लागि जस्तोसुकै सम्झौता नगर्ने र संसदीय अभ्यासलाई मर्यादित ढंगले अघि बढाउने उनले बताए।
“पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने अभ्यास संसदीय व्यवस्थाको मर्मअनुसार होइन। हामी त्यसमा चुक्यौँ,” उनले भने, “जे गरे पनि सत्ता नै चाहिन्छ भन्ने सोच परिवर्तन गरेका छौँ।”
पौडेलले नेतृत्व परिवर्तनपछि कांग्रेसप्रति देशभर आकर्षण बढेको दाबी गर्दै आगामी निर्वाचनमा पार्टी पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२