काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) ले ११ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली ले घोषणापत्र सार्वजनिक गर्दै प्रतिबद्धताहरू कार्यान्वयनका लागि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै समयसीमा तोकिने बताए।
घोषणापत्रअनुसार १८ देखि २९ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जीबी डेटा निःशुल्क उपलब्ध गराइनेछ। सूचना प्रविधि क्षेत्रमा अनुसन्धान, उत्पादन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले युवा तथा उद्यमीलाई १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने पनि प्रतिबद्धता गरिएको छ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई प्रोत्साहनस्वरूप उनीहरूले पठाएको रेमिट्यान्समा थप ५ हजार रुपैयाँ खातामा जम्मा गरिदिने उल्लेख छ। साथै, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराइने जनाइएको छ।
विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्व्याजी ऋण उपलब्ध गराउने र सरकारी, निजी तथा शैक्षिक क्षेत्रमा न्यूनतम पारिश्रमिकसहित इन्टर्नशिपको व्यवस्था गरिने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ। देशभरका विद्यालयका किशोरीलाई निःशुल्क स्यानिटरी प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने योजना अघि सारिएको छ।
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने, सबै श्रमिक तथा शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा जोड्ने तथा शिक्षकको मर्यादाक्रम निर्धारण गर्ने योजना पनि एमालेले अघि सारेको छ।
स्वास्थ्य स्वयंसेविकालाई मासिक २० हजार रुपैयाँ भत्ता दिने र सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिने प्रतिबद्धता गरिएको छ। उद्यमी महिलालाई २५ लाख रुपैयाँसम्म निर्व्याजी ऋण, सुत्केरी महिलालाई २० हजार रुपैयाँ भत्ता तथा ५ लाख रुपैयाँसम्मको निःशुल्क जीवन बीमा उपलब्ध गराउने घोषणा पनि गरिएको छ।
यसैगरी, गरिब परिवार पहिचान गरी २०८२ भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने तथा बहालवाला र अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मान, सेवा–सुविधा र सामाजिक सुरक्षा सुनिश्चित गर्ने एमालेको प्रतिबद्धता छ।
प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२