काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर गर्दै निर्वाचन आयोग ले ‘सेतोपाटी अनलाइन’ विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगले आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको जनाएको छ।
आयोगका अनुसार ‘सेतोपाटी’ले चितवन–३ सम्बन्धी प्रकाशित दुई समाचार निर्वाचन आचारसंहिता, २०८२ विपरीत रहेको देखिएको छ। ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ तथा ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकमा प्रकाशित सामग्रीप्रति आयोगले आपत्ति जनाएको हो।

पत्रमा उल्लेख भएअनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न, त्यस्तो सर्वेक्षणको नतिजा सार्वजनिक गर्न वा प्रकाशन गर्न नपाइने व्यवस्था रहेको छ। साथै, कसैको पक्ष वा विपक्षमा प्रभाव पार्ने गरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने प्रावधान पनि आचारसंहितामा स्पष्ट गरिएको आयोगको भनाइ छ।
उक्त व्यवस्थाको उल्लंघन भएको देखिएकाले आवश्यक छानबिन तथा कारबाहीका लागि प्रेस काउन्सिललाई अनुरोध गरिएको आयोगले जनाएको छ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२