काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय स्वाधीनता चुनौतीमा परेको बताएका छन्। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा चित्रण गरेका छन्।
एक भिडियो सन्देशमार्फत पुनले आफ्नो दलले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, समृद्धि र रोजगारीलाई प्रमुख चुनावी एजेण्डा बनाएको जानकारी दिए। देशले सुशासन र आर्थिक समृद्धिको खोजी गरिरहेको तथा युवाहरूलाई सम्मानजनक रोजगारी आवश्यक रहेको उनको भनाइ थियो।
मतदानअघि राष्ट्रको स्वाधीनता, युवापुस्ताको भविष्य, शहीदहरूको बलिदान र ऐतिहासिक संघर्षलाई स्मरण गर्न उनले मतदातासँग आग्रह गरेका छन्। उनले विगतमा आफ्नो पार्टीले सुशासन, सामाजिक न्याय र समावेशिताका क्षेत्रमा काम गरेको दाबी गरे।
महिला, मजदुर, किसान, दलित, जनजाति, मधेसी र कर्णालीलगायत पिछडिएका समुदायलाई राज्यको मूलधारमा ल्याउन पहल गरिएको उल्लेख गर्दै पुनले संविधान र कानुनमार्फत महिलाको सम्पत्ति अधिकार, राजनीतिक सहभागिता र उत्पीडित वर्गको प्रतिनिधित्व सुनिश्चित गरिएको बताए। हाल करिब ३० प्रतिशत महिलाहरू सम्पत्तिको मालिक बनेको र एकतिहाइ महिला राजनीतिक तथा सार्वजनिक क्षेत्रमा स्थापित भएको दाबीसमेत उनले गरे।
पार्टी र नेताहरू त्रुटिरहित नभएको स्वीकार गर्दै उनले विगतका कमजोरी सच्याएर पुनः जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आगामी निर्वाचनमा आफ्नो दलका उम्मेदवारहरूलाई मतदान गरी राष्ट्रभक्ति, स्वाधीनता र सुशासनप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्न उनले मतदातालाई आह्वान गरेका छन्।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२