काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसको अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा अमेरिकी सेनाले परेड खेलेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जारी गरेको विज्ञप्तिमा उक्त कार्यक्रमबारे राजनीतिक दल तथा आम नेपाली जनतालाई पूर्वजानकारी नदिई “रहस्यमय ढंगले” सैन्य परेड आयोजना गरिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ कि अमेरिकी हस्तक्षेपबारे देशमा विभिन्न बहस चलिरहेका बेला कुनै जानकारी वा सहमति बिना विदेशी सेनाको परेड आयोजना गर्नु राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथिको गम्भीर आघात हो। पार्टीले यस्तो कार्य गर्ने र गराउने दुवै पक्षको कडा भर्त्सना गरेको जनाएको छ।
माओवादीले घटनाबारे सरकारको आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न माग गर्दै देशको स्वाधीनता कमजोर बनाउने कुनै पनि कदमविरुद्ध आवश्यक परे प्रतिरोधका लागि तयार रहन कार्यकर्ता र समर्थकलाई आह्वान गरेको छ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२