काठमाडौं। आम जनता पार्टी (आजपा) ले आगामी निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गर्दै नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। पार्टी अध्यक्ष प्रभु साह नेतृत्वको उक्त दलले सूचना प्रविधि, रोजगारी, शिक्षा र स्वास्थ्यलाई केन्द्रीय प्राथमिकतामा राखेको छ।
घोषणापत्रमा सूचना प्रविधि क्षेत्रलाई विस्तार गर्न ‘आईटी आर्मी’ गठन गर्ने, डिजिटल करिडोर विकास गर्ने तथा युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना उल्लेख गरिएको छ। हरेक विद्यार्थीले कम्तीमा एक उच्च प्राविधिक सीप अनिवार्य रूपमा सिक्नुपर्ने व्यवस्था गर्ने प्रतिबद्धता पनि गरिएको छ।
रोजगारीतर्फ ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने तथा बेरोजगारलाई बेरोजगारी भत्ता प्रदान गर्ने घोषणा गरिएको छ। शिक्षा क्षेत्रमा पूर्ण साक्षर राष्ट्र निर्माण, स्मार्ट कक्षाकोठा विस्तार र ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ।
स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड लागू गर्ने, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार सुनिश्चित गर्ने तथा प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने लक्ष्य लिइएको छ। साथै शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् सेवा आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ।
पूर्वाधार विकासअन्तर्गत मुख्य राजमार्गको स्तरोन्नति, सडक सुरक्षाका लागि उच्च प्रविधियुक्त निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङ व्यवस्था गर्ने योजना प्रस्तुत गरिएको छ। राजमार्ग क्षेत्रमा अप्टिकल फाइबर विस्तार गरी डिजिटल करिडोर निर्माण गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
ऊर्जा क्षेत्रमा विद्युत् उत्पादन र निर्यात वृद्धि गर्ने तथा ‘हिमालयन ओरिजिन’ ब्राण्डमार्फत बोतलबन्द पानी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने रणनीति लिइएको छ। भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ निर्माण र योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२