काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २५ वटा घटकलाई एकताबद्ध गराइसकेको दाबी गर्दै पार्टी पहिलो शक्तिका रूपमा अघि बढिरहेको बताएका छन्।
नेकपा निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशका अधिकांश क्षेत्रमा नेकपाको पक्षमा चुनावी वातावरण बन्दै गएको बताए। आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने सम्भावना प्रबल देखिएको उनको जिकिर छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै प्रचण्डले आफूलाई ‘नयाँ’ भन्नेहरूमा ठोस विचार, सिद्धान्त र एजेन्डाको अभाव रहेको आरोप लगाए। उनले नयाँ र पुरानोको मूल्यांकन व्यक्ति वा पार्टीको उमेरले होइन, विचार र एजेन्डाले निर्धारण गर्ने बताए।
‘नयाँ के हो भन्ने कुरा विचारले तय गर्छ,’ उनले भने, ‘गणतन्त्रभन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ ? सबैलाई पहिचान र अधिकार दिने भन्दा नयाँ नारा के छ ? संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा अघि बढेको कुनै एजेन्डा नयाँ भनिनेहरूसँग छ ?’
प्रचण्डले नेकपालाई पुरानो कित्तामा राख्ने प्रयास गलत भएको भन्दै वास्तवमा विचारका हिसाबले सबैभन्दा पुरानो धार रास्वपाको भएको टिप्पणी गरे। उदार पूँजीवाद र दलाल पूँजीवादलाई प्रोत्साहन गर्दै आफूलाई नयाँ भन्नु उपयुक्त नहुने उनको भनाइ थियो।
‘गणतन्त्र र संघीयताभन्दा नयाँ केही छैन,’ उनले थपे, ‘त्यसैले नयाँ हामी हौँ। अब देशको नेतृत्व हामीले नै गर्ने हो भन्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्छ।’
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०८२