राजु हुमागाईँ
२०८२ को चुनावलाई केवल “चुनावी रणनीति” को सीमित दायराभित्र राखेर बुझ्ने प्रयास आफैंमा अपूरो विश्लेषण हो। सतहमा देखिने गठबन्धन, उम्मेदवार र समीकरणभन्दा धेरै गहिरो तहमा यो चुनावले नेपाली राजनीतिमा चलिरहेको मौन तर निर्णायक संघर्षलाई उजागर गरिरहेको छ। यो संघर्ष न त मात्र सत्ता कसले लिन्छ भन्ने प्रश्नमा सीमित छ, न त सामान्य सरकार फेरबदलको कथा हो। यो वास्तवमा पुरानो राजनीतिक चेतना र नयाँ सामाजिक चेतनाबीचको टकराव हो।
२०८२ भदौ २३–२४ पछिको घटनाक्रमले यही संकेत स्पष्ट रूपमा दिएको थियो। त्यो परिवर्तन केवल सरकार परिवर्तन वा पद बाँडफाँटको गणित थिएन। त्यो एक राजनीतिक सन्देश थियो—पुरानो सहमति, पुरानो सम्झौता र पुरानो कार्यशैलीमा अब देश अड्किँदैन। यही सन्देशपछि फाल्गुन २१ को चुनावी परिदृश्य क्रमशः फरक देखिन थाल्यो। पुराना दलहरू भाषामा आक्रामकभन्दा बढी रक्षात्मक देखिन थाले। विचार र दृष्टिकोणभन्दा पनि अस्तित्व जोगाउने चिन्ता हावी हुन थाल्यो।
यस अवस्थालाई धेरैले पुरातन दलहरूको वर्चस्व वा विरासत गुम्ने डरको रूपमा व्याख्या गर्छन्, र त्यो व्याख्या गलत पनि होइन। तर यो डर त्यति सरल छैन। पुराना दलहरूको वास्तविक भय इतिहाससँग जोडिएको छ। उनीहरूलाई अब मतदाताले २०४६ वा २०६२/६३ को स्मृतिको आधारमा मत नदिने हो कि भन्ने चिन्ता छ। “हामी नै परिवर्तनका संवाहक हौँ” भन्ने कथा अब समाप्त हुँदैछ कि भन्ने डर छ। अझ गहिरो रूपमा, युवा पुस्ताले भावनात्मक ऋण तिर्न अस्वीकार गर्ने हो कि भन्ने असुरक्षा छ। आजको मतदाता इतिहास सुन्न चाहँदैन; ऊ भविष्य सोध्दैछ। त्यसैले झन्डा, वंश र अतीत जोगाउने राजनीति नीतिमा होइन, “हामी बाहेक अरू को?” भन्ने मानसिकतामा अडिएको देखिन्छ।
यद्यपि, यो संकट केवल आन्तरिक होइन। यसमा भूराजनीतिक दबाबको तह झनै निर्णायक छ। नेपाल अब आन्तरिक राजनीतिक खेलमै सीमित रहने देश रहेन। भारत र चीनजस्ता दुई ठूला शक्ति–क्षेत्रबीच विश्व शक्ति सन्तुलन परिवर्तन हुँदै गएको अवस्थामा नेपाल दक्षिण एसियाको संवेदनशील नोड बनेको छ। यसले परम्परागत राजनीतिक दलहरूको बाह्य भरोसा र सन्तुलन सूत्रलाई कमजोर बनाएको छ। नयाँ अनुहार र नयाँ राजनीतिक भाष्य “कम predictable” भए पनि “कम compromised” देखिन थालेका छन्। यही कारण पुराना दलहरू देशभित्र मात्र होइन, बाहिरबाट पनि दबाबमा परेका छन्।
तर यी सबै कारणभन्दा गहिरो र निर्णायक कारण भनेको जनचेतनाको परिवर्तन हो। आजको मतदाता नारा, दोषारोपण र इतिहासको पुनरावृत्ति सुन्न चाहँदैन। ऊ सरल तर कठोर प्रश्न सोधिरहेको छ—मेरो जीवन कहिले बदलिन्छ? मेरो सन्तान किन विदेश जान बाध्य छ? राजनीति सेवा हो कि पेशा? यी प्रश्नहरूको उत्तर पुरानो ढाँचा, पुरानो भाषाशैली र पुरानो सोचबाट दिन सम्भव छैन। यही कारण फाल्गुन २१ को चुनावी परिदृश्य केवल राजनीतिक समीकरणको परिणाम होइन, चेतनागत रूपान्तरणको संकेत हो।
राजनीतिलाई सधैँ सिधा रेखा जस्तो बुझ्ने बानी छ—अतीतबाट वर्तमान हुँदै भविष्यतर्फ क्रमिक रूपमा अघि बढ्ने प्रक्रिया। तर राजनीति मानव चेतनासँग जोडिएको भएकाले कहिल्यै रेखीय हुँदैन। जब असन्तोष चरममा पुग्छ, पुरानो संरचना बोझ बन्छ र नयाँ प्रश्न जन्मिन्छ, तब राजनीति एउटा पारम्विक बिन्दुमा प्रवेश गर्छ। नेपालको इतिहासमा २००७, २०४६ र २०६२/६३ यस्तै बिन्दुहरू हुन्। ती बिन्दुहरूपछि केही समय राजनीति सिधा रेखा जस्तो देखिन्छ—संविधान, चुनाव, सरकार र व्यवस्था निर्माणको क्रम चल्छ।
तर त्यो अवस्था स्थायी हुँदैन। केही समयपछि राजनीति समानान्तर दिशामा हिँडेजस्तो देखिन्छ, जहाँ सबै शक्ति परिवर्तनको पक्षमा उभिएझैँ लाग्छ। यही समानान्तरता पछि साधन सत्ता बन्छ, विचार पहिचानमा रूपान्तरित हुन्छ र शक्ति केन्द्र विभाजित हुन्छ। यहीँबाट राजनीति त्रिभुजमा प्रवेश गर्छ, जहाँ सत्ता, विचार र बाह्य प्रभाव एक–अर्कालाई तान्दै अस्थिर सन्तुलन बनाउँछन्। २०६३ पछिको नेपाली राजनीति यही त्रिभुजको उदाहरण हो—जहाँ सत्ता गठबन्धनमा सीमित रह्यो, विचार कमजोर बन्यो र बाह्य प्रभाव बलियो हुँदै गयो।
तर राजनीति यहाँ पनि स्थिर हुँदैन। वास्तवमा राजनीति रेखा, वृत्त वा त्रिभुज मात्र होइन। यो स्पाइरल—घुमाउरो सिँढी—जस्तै हुन्छ। उही बिन्दुमा फर्किएझैँ देखिए पनि चेतनाको तह फरक हुन्छ। इतिहास दोहोरिन्छ, तर उही रूपमा होइन।
यस अर्थमा २०८२ को चुनाव सत्ता कसले पाउँछ भन्ने प्रश्नभन्दा धेरै गहिरो संघर्ष हो। यो पुरानो राजनीति बाँच्छ कि नयाँ चेतना जन्मिन्छ भन्ने निर्णायक क्षण हो। अन्ततः राजनीति सिधा रेखा होइन—यो चेतनाले कोर्ने ज्यामिति हो।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०८२