रामहरि बजगाईँ
नेपाल आज सामान्य राजनीतिक प्रतिस्पर्धाको अवस्थामा छैन। यो देश आज यस्तो मोडमा आइपुगेको छ, जहाँ एक गलत निर्णयले दशकौँको उपलब्धि धरापमा पार्न सक्छ र एउटा सही निर्णयले भविष्य सुरक्षित गर्न सक्छ। हुन गइरहेको निर्वाचन सत्ता परिवर्तनको औपचारिक प्रक्रिया मात्र होइन, नेपाल स्वाधीन, स्थिर र आत्मनिर्भर राष्ट्रका रूपमा अघि बढ्ने कि प्रयोगात्मक अराजकतामा फस्ने भन्ने प्रश्नको उत्तर खोज्ने निर्णायक घडी हो। यस्तो बेला मतदाता भावनाको आवेग होइन, इतिहासको चेतना र राष्ट्रको आवश्यकताबाट निर्देशित हुनैपर्छ।
प्रकृतिको नियम सधैं उस्तै हुन्छ। मध्य वर्षातमा अचानक आउने खहरे ठूलो आवाजसहित बग्छ, सबै कुरा बगाएर लैजान्छ, पहिरो ल्याउँछ र क्षणभरमै भूगोलको स्वरूप बिगारिदिन्छ। तर त्यो खहरे कहिल्यै स्थायी हुँदैन। त्यसको दिशा हुँदैन, लक्ष्य हुँदैन, भविष्य हुँदैन। राष्ट्र भने खहरेले होइन, नदीले बनाउँछ—निरन्तर बग्ने, आलोचना सहने, अवरोध छिचोल्ने र अन्ततः समुद्रसम्म पुग्ने नदीले। आज नेपाली राजनीतिमा ‘नयाँ’ को नाममा देखिएको चमकधमक, सामाजिक सञ्जालको उछाल र स्टन्टबाजी त्यही खहरे राजनीति हो। यसको विपरीत, एमालेको राजनीति नदी जस्तै हो—स्थिर, गम्भीर र दीर्घकालीन।
आज राजनीति विचार र नीतिबाट होइन, भिडियो, लाइभ, ट्रेन्ड र भाइरलबाट चलाउने प्रयास भइरहेको छ। सामाजिक सञ्जालमा करोडौँ खर्च गरेर बनाइएका छविलाई जनमत ठान्ने भ्रम फैलाइएको छ। तर सत्य यही हो—अरूले बोकेर बनाइदिएको व्यक्तित्वले देश चल्दैन। बोकेको कुकुरले कहिल्यै मृग मार्दैन भनेझैँ, बाह्य समर्थन, डिजिटल प्रचार र कृत्रिम लोकप्रियताले न त राज्य सञ्चालनको क्षमता दिन्छ, न संकटमा निर्णय गर्ने आँट।
राजनीति आत्मप्रदर्शनको मञ्च होइन, राष्ट्र सञ्चालनको गम्भीर जिम्मेवारी हो। राष्ट्रलाई निकास दिन उद्देश्य चाहिन्छ, योजना चाहिन्छ, संस्थागत शक्ति चाहिन्छ र सबैभन्दा महत्वपूर्ण कुरा—राष्ट्रभन्दा माथि आफूलाई नराख्ने नेतृत्व चाहिन्छ। यहीँ आएर एमाले र केपी शर्मा ओलीको राजनीतिक हैसियत स्पष्ट हुन्छ। उनीहरू आलोचनामुक्त होइनन्, तर उनीहरू दिशाहीन छैनन्। उनीहरू स्टन्टबाजीमा होइन, राज्य सञ्चालनको अनुभव र निर्णय क्षमतामा विश्वास गर्छन्।
आज ‘नयाँ’ को नाममा एउटा खतरनाक विकल्प अगाडि सारिँदैछ—जिम्मेवार राज्य बनाम अराजक भिड। आन्दोलनको नाममा निहत्था बालबालिकालाई अगाडि धकेल्ने, राज्यका संरचना जलाउन उक्साउने, भिडन्त सिर्जना गर्ने अनि आफू भने सुरक्षित ठाउँबाट राजनीतिक फाइदा उठाउने प्रवृत्ति लोकतान्त्रिक संघर्ष होइन, अपराधजन्य राजनीति हो। बालबालिकाको रगतलाई सत्ता चढ्ने भर्याङ बनाउने सोचलाई वैधानिकता दिनु भनेको भोलि अझ ठूलो हिंसाको ढोका खोल्नु हो।
आज पनि योजनाबद्ध रूपमा दोषारोपण गरिँदैछ। शान्तिपूर्ण आन्दोलनको आवरणमा सिर्जित अराजकतालाई राज्यको दमन भनेर चित्रण गर्ने प्रयास भइरहेको छ। तर तथ्यहरू जनतासामु छन्। माइतिघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शनमाथि राज्यले गोली चलाएको कुनै प्रमाण छैन। राज्यका संरचना तोडफोड र आगजनी भइरहँदा सुरक्षानिकायले हस्तक्षेप गर्नु राज्यको दायित्व हो। त्यसैलाई नियोजित भिडन्तमा रूपान्तरण गरी बालबालिकाको ज्यान जाने अवस्था सिर्जना गर्नु र त्यसको सम्पूर्ण दोष तत्कालीन सरकार र केपी ओलीमाथि थोपर्नु सुनियोजित राजनीतिक षड्यन्त्र हो।
यही कारण आज सबैभन्दा बढी आक्रमण केपी शर्मा ओलीमाथि भइरहेको छ। प्रश्न उठ्छ—किन सधैं ओली ? किन सधैं एमाले ? यसको उत्तर स्पष्ट छ। राष्ट्रियताको सवालमा सम्झौता नगर्ने राजनीतिक शक्ति एमाले हो। सीमा, सार्वभौमसत्ता, आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानको विषयमा एमाले तीन दशकभन्दा बढी समयदेखि चट्टानझैं उभिएको छ। त्यो चट्टान कमजोर पार्न सकियो भने, बाह्य स्वार्थका लागि यो देश खुला मैदान बन्छ भन्ने गणनामा केही शक्तिहरू सक्रिय छन्।
एमालेको राजनीति केवल भाषणमा सीमित छैन, काममा प्रमाणित भएको इतिहास हो। महाभूकम्पपछिको पुनर्निर्माण असम्भव भनिएको अवस्थामा सम्भव बनाइयो। लोडसेडिङ अन्त्य गरेर ऊर्जा क्षेत्रमा आत्मनिर्भरताको आधार तयार गरियो। सुरुङमार्गमार्फत देशको जटिल भूगोलसँग जुध्दै विकासको नयाँ बाटो खोलियो। काठमाडौं बाहिर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेर केन्द्रिकरण तोड्ने साहस गरियो। वृद्ध–वृद्धाका लागि सामाजिक सुरक्षामार्फत राज्यले जिम्मेवारी लिने संस्कार स्थापित गरियो। यी सबै काम स्टन्ट होइनन्, राज्य सञ्चालनको क्षमता र इच्छाशक्तिको परिणाम हुन्।
भौतिक विकास मात्रै पर्याप्त हुँदैन भन्ने कुरा एमालेले पनि बुझेको छ। तर भौतिक विकासबिनाको भावनात्मक राष्ट्रवाद खोक्रो नारा मात्र हुन्छ। एमालेले विकास र स्वाधीनतालाई सँगसँगै अघि बढाएको छ। आधुनिकता र राष्ट्रिय पहिचानलाई टकराव होइन, सहयात्राको रूपमा लिएको छ। यही सन्तुलन आज नेपाललाई चाहिएको हो।
आज फेसबुकबाट पलाएका ‘नयाँ’ भनिएका समूहहरूसँग न त स्पष्ट वैचारिक धरातल छ, न दीर्घकालीन योजना, न राज्य सञ्चालनको अनुभव। छ भने केवल आक्रोश, असन्तुलित आरोप र आत्मप्रचार। यस्तो राजनीति क्षणिक रूपमा आकर्षक देखिएला, तर राष्ट्रका लागि दीर्घकालीन रूपमा घातक हुन्छ।
निर्वाचन कुनै रमिता होइन। यो देशको भविष्य लेखिने क्षण हो। नेपाली जनता अब सजिलै भ्रममा पर्ने अवस्थामा छैनन्। उनीहरूले देखेका छन्—कसले भाषण गर्यो, कसले काम गर्यो। कसले आगो बाल्यो, कसले घर बनायो। त्यसैले अन्ततः निर्णय स्पष्ट छ। जतिसुकै हल्ला मच्चाइए पनि, जतिसुकै स्टन्ट देखाइए पनि, राष्ट्रको जिम्मा दिन सकिने शक्ति एमाले नै हो। स्वाधीनता जोगाउने कि भ्रमको भीड पछ्याउने भन्ने प्रश्नको उत्तर अब मतपेटिकामा दिइनेछ। इतिहास सधैं गम्भीर निर्णय गर्नेहरूकै पक्षमा उभिन्छ।
लेखक नेकपा एमालेका युवा नेता हुन्।
प्रकाशित मिति: बुधबार, माघ १५, २०८२