काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश कांग्रेसको जन्मभूमि भएकाले त्यसको सेवा गर्नु कांग्रेसको ऐतिहासिक जिम्मेवारी भएको बताएका छन्। सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले विगतका कमजोरी सच्याउँदै मधेशसँगको सम्बन्धलाई नयाँ विश्वासका साथ अघि बढाउने संकल्प व्यक्त गरे।
थापाले आगामी पाँच वर्षको संसद् नेपालका लागि निर्णायक समय भएको उल्लेख गर्दै अब यो अवधि खेर जान नहुने बताए। उनका अनुसार यही समय आर्थिक प्रगति गर्ने, कृषकको जीवनस्तर सुधार्ने, बेरोजगार युवालाई रोजगारी दिने तथा शिक्षा र स्वास्थ्य सेवाको अवस्था बदल्ने अवसर हो।
“यो पाँच वर्ष कांग्रेसले देश निर्माणका लागि सदुपयोग गर्छ,” उनले भने, “त्यसका लागि कांग्रेसले सबैभन्दा ठूलो शक्ति मधेशबाट प्राप्त गर्न चाहन्छ।” मधेश कांग्रेसको आधारभूमि भएको उल्लेख गर्दै उनले कांग्रेसलाई बनाउने, हुर्काउने र मजबुत बनाउने काम यही भूमिले गरेको दाबी गरे।
सभापति थापाले कांग्रेसबाट विगतमा केही गल्ती र कमजोरी भएको स्वीकार गर्दै ती सुधार्ने प्रतिबद्धतासहित आफू मधेश आएको बताए। “मधेशले सधैँ कांग्रेसलाई न्याय गर्यो, तर पछिल्लो समयमा कांग्रेसबाट मधेशप्रति हुनुपर्ने न्यायमा केही चुक भएका छन्,” उनले स्वीकारे।
मधेशका माग, सम्मान, प्रतिनिधित्व र अधिकारका सवालमा नयाँ तथा मधेश केन्द्रित दलहरू उदाएको उल्लेख गर्दै उनले कसैप्रति आरोप नलगाउने स्पष्ट पारे। तर कांग्रेस मधेशको ‘जेठो छोरा’ भएकाले आमाको सेवा गर्ने पहिलो जिम्मेवारी कांग्रेसकै भएको उनको भनाइ थियो।
“मधेश हाम्रो आमा हो, हामी यसको जेठो छोरा हौँ,” थापाले भने, “हामीले गर्नुपर्ने सेवा र जिम्मेवारीमा कहीँ न कहीँ चुक्यौँ, त्यसैले आज कांग्रेसले आफ्नो सभापतिलाई नै मधेशको उम्मेदवार बनाएर मैदानमा उतारेको हो।”
उनले सर्लाही मात्र नभई मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्दै त्यसको बदलामा कांग्रेसले आगामी पाँच वर्ष देश र मधेशको सेवा गर्ने कर्तव्य पूरा गर्ने विश्वास दिलाए।
“यो सन्देश घर–घरमा पुर्याउनुस्,” उनले भने, “मधेशको जिम्मा हामी लिन्छौँ र मधेशका माग पूरा गरेरै छाड्छौँ।”
प्रकाशित मिति: बुधबार, माघ १५, २०८२