तिलक प्रसाद शर्मा
नेपालको वर्तमान राजनीतिक परिदृश्य एउटा गम्भीर विरोधाभास (Paradox) बाट गुज्रिरहेको छ, जहाँ विचार र सिद्धान्तको गुरुत्वभन्दा बढी होहल्ला, लोकप्रियतावाद (Populism) र दलीय संकीर्णताले स्थान पाएको छ। समाजको ठूलो तप्का पुराना सबै दल र नेताहरू खराब हुन् भन्ने अतिवादी भाष्य निर्माण गरेर ऐतिहासिक विरासत खारेज गर्न उद्यत देखिन्छ। अर्कोतर्फ, स्थापित शक्तिहरू आफूमाथि हुने आलोचनालाई विदेशी प्रायोजनु (Foreign Sponsorship) को बिल्ला भिराएर आफ्नो अक्षमता ढाकछोप गर्न व्यस्त छन्। हालै नेपाली कांग्रेसभित्र गगन थापाजस्ता युवा नेतृत्वको उदयलाई विदेशी ईसारासँग जोडेर गरिएका चर्चा यसै प्रवृत्तिका कुरुप कडी हुन्। तर यी सतही भाष्यहरूभन्दा गहिरो समस्या नेपालको राजनीतिक संस्कार, योग्यताको खडेरी र नागरिकहरूको वैचारिक दासता (Ideological Slavery) मा लुकेको छ।
यही राजनीतिक संक्रमण र अन्योलको बीचमा पछिल्लो समय "लुसिफर" (lucifer) नामक रहस्यमयी र प्रतीकात्मक चरित्रको चर्चाले नेपाली सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ। बाइबलीय र पौराणिक सन्दर्भमा लुसिफरलाई स्वर्गबाट खसालिएको विद्रोही वा अन्धकारमा प्रकाश फैलाउने पात्रका रूपमा चिनिन्छ, जसले स्थापित सत्ता र नियमलाई चुनौती दिन्छ। नेपालको सन्दर्भमा यो कुनै स्पष्ट भौतिक व्यक्ति मात्र नभएर एउटा प्रवृत्तिको रूपमा उदाएको छ, जसले स्थापित दलहरूको एकाधिकार र परम्परागत राजनीतिक "सिन्डिकेट" (syndicate) भत्काउने दाबी गर्दछ। आलोचनात्मक दृष्टिले हेर्दा, लुसिफर जस्ता पात्र वा प्रवृत्तिको उदय हुनु भनेको विद्यमान राजनीतिक प्रणालीले जनताको भरोसा पूर्णतः गुमाउनुको परिणाम हो। जब मूलधारका दलहरूले जनताका सपनालाई धोका दिन्छन्, तब समाजले यस्ता "आउटसाइडरु" (outsider) वा रहस्यमयी विद्रोही चरित्रमा मुक्ति खोज्न थाल्छ। यो नाम कुनै खास व्यक्तिसँग जोडिए पनि वास्तविक ध्येय अझै स्पष्ट छैन। यही अस्पष्टताको बीचमा हरेक नयाँ विचारलाई बिना आधार "विदेशी एजेन्ट" को बिल्ला भिराएर निषेध गर्ने प्रयास झन् खतरनाक छ।
मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्सीको "सांस्कृतिक आधिपत्य" (cultural hegemony) को सिद्धान्तका आधारमा विश्लेषण गर्दा, नेपालमा राजनीतिक दलहरूले जनताको चेतनालाई यसरी नियन्त्रणमा राखेका छन् कि नागरिकहरू दलीय आग्रहभन्दा माथि उठेर विवेकपूर्ण निर्णय लिनै नसक्ने अवस्थामा पुगेका छन्। ग्राम्सीका अनुसार शासक वर्गले केवल बल प्रयोग गरेर होइन, विचारधारात्मक यन्त्रमार्फत जनताको "सहमति" (consent) निर्माण गर्छ। नेपाली समाजमा झन्डै हरेक घरका सदस्य कुनै न कुनै पार्टीको साङ्लोमा बाँधिनु, राम्रोलाई भन्दा "आफ्नो" लाई भोट हाल्नु र पार्टीले जस्तोसुकै भ्रष्ट वा अक्षम व्यक्तिलाई टिकट दिए पनि त्यसको अन्ध समर्थन गर्नु यसै दलीय आधिपत्यको परिणाम हो। यो दलीय दासता नागरिकलाई "स्वतन्त्र एजेन्ट" बाट "मूक दर्शक" मा परिणत गरिदिएको छ।
राजनीतिलाई गम्भीर नीतिशास्त्रीय विधा मान्नुको सट्टा अवकाशपछिको आश्रयस्थल वा प्रसिद्धिलाई भजाउने माध्यम बनाइनुले नेपालको लोकतन्त्रलाई गुणात्मक रूपमा कमजोर बनाएको छ। प्लेटोले आफ्नो "द रिपब्लिक" (The Republic) मा राजनीतिलाई सबैभन्दा कठिन कला र विज्ञान मानेका थिए। तर नेपालमा "प्यारासुट इन्ट्री" (९एबचबअजगतभ भ्लतचथ०) मौलाएको छ। विश्व इतिहासका उत्कृष्ट उदाहरणहरूले देखाउँछन् कि सफल राष्ट्र निर्माणका लागि राजनीतिमा केवल "चर्चा" होइन, "क्षमता" र "समर्पण" चाहिन्छ। सोभियत संघको निर्माणमा भ्लादिमिर लेनिनले "प्रोफेसनल रिभोलुसनरी" अवधारणा अघि सारेका थिए। त्यस्तै, सिङ्गापुरको विकासमा ली कुआन यूले "मेरिटोक्रेसी" (Parachute Entry) कठोरताका साथ लागू गरे। उनले प्रस्ट भनेका थिए, "देश चलाउन सबैभन्दा चतुर र समर्पित मस्तिष्क चाहिन्छ, केवल होहल्ला गर्नेहरू होइन।"
राजनीतिक सिद्धान्तकार जोन लक (John Locke) का अनुसार, सरकारको वैधता शासितहरूको सहमतिमा आधारित हुन्छ। तर नेपालमा उम्मेदवार चयन गर्दा जनतासँग जोडिएका व्यक्तिहरूलाई पाखा लगाई "एस म्यानु" (Yes Man) हरूलाई प्राथमिकता दिने गरिन्छ। पछिल्लो समय नेपाली राजनीतिमा एउटा घृणित विकृति (Pervesion) देखियो, जहाँ निर्वाचन चिन्हलाई व्यापारको वस्तु बनाइयो। आफ्नो सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर अर्को पार्टीका नेतालाई आफ्नो निर्वाचन चिन्ह "बेच्ने" वा सापटी दिने कार्यले लोकतन्त्रको उपहास मात्र गरेको छैन, मतदाताको आस्थामाथि पनि निर्मम प्रहार गरेको छ। जनतालाई केवल "चिन्ह" प्रति आकर्षित गराउने र पर्दाभित्र स्वार्थको लेनदेन गरेर अर्कै पार्टीको उम्मेदवारलाई आफ्नो चिन्हमा चुनाव लडाउनु राजनीतिक अनैतिकताको पराकाष्ठा हो। यसले पुष्टि गर्छ कि पार्टीको टिकट "जनताप्रतिको उत्तरदायित्व" भन्दा "नेताप्रतिको बफादारी" र "आर्थिक स्वार्थ" को पुरस्कार बन्न पुगेको छ।
यस्तो विचलनका बीच, गगन थापाले भाद्र २३ को जेन्जी (Gen Z) आन्दोलनका बेला सत्तामा रहेका मन्त्रीहरूलाई यसपटक चुनावी टिकटबाट वञ्चित गरेर राजनीतिमा "जवाफदेहिता" र "नैतिकता" को बलियो मानक खडा गरिदिएका छन्। पद र शक्तिको आडमा जनभावना कुल्चनेहरूलाई दण्डित गर्ने यो कदमले लोकतन्त्रमा गल्तीको सजाय हुन्छ भन्ने मिठो सन्देश मात्र दिएको छैन, राजनीति केवल स्वार्थको खेल नभई नैतिकताको कसी पनि हो भन्ने तथ्यलाई पुनः पुष्टि गरेको छ। नेतृत्वको मूल्याङ्कन गर्दा चरित्र, योग्यता र देशप्रतिको समर्पणलाई मापदण्ड बनाउनुपर्छ। यदि केवल नेताको चाकडी गरेर टिकट पाउने, चिन्हको व्यापार गर्ने र संसद्मा गएर आफ्नै विवेक प्रयोग गर्न डराउने पात्रहरूलाई अनुमोदन गरिरह्यौँ भने लोकतान्त्रिक संस्थाहरू कहिल्यै बलियो बन्न सक्दैनन्।
नेपालको लोकतन्त्रलाई संकुचित जातीय र क्षेत्रीय राजनीतिले वर्षौँदेखि गिजोल्दै आएको परिवेशमा केही सुखद राजनीतिक पदचापहरू देखिन थालेका छन्। काठमाडौँका मेयर बालेन शाहको उम्मेदवारी "कोर पहाडिया" बस्तीहरूमा र गगन थापा र ऋषिधमलाको उम्मेदवारी "कोर मधेसी" समुदायमा हुनुले नेपाली समाजको भावनात्मक एकीकरणमा ठूलो भूमिका खेल्ने देखिन्छ। जब पहाडमा जन्मिएको नेतृत्वलाई मधेसले र मधेसी मूलको नेतृत्वलाई पहाडको मुटुले अपनत्व महसुस गर्छ, तब मात्र साँचो अर्थमा "नेपाली" राष्ट्रियता र सामाजिक सद्भाव मजबुत हुन्छ। यो भौगोलिक सिमाना र जातीय संकीर्णताभन्दा माथि उठेर "योग्यता" अनुमोदन गर्ने नागरिक चेतनाको विजय हो। यसले एकातिर तराई–पहाड दूरी घटाउँछ भने अर्कोतिर परम्परागत राजनीतिक शक्तिहरूलाई विस्थापित गर्ने सामर्थ्य राख्छ।
नेपालमा अर्को विडम्बना "सेलिब्रेटी कल्चर" (Celebrity Culture) र राजनीति बीचको अस्पष्ट रेखा हो। मार्क्सवादी द्वन्द्वात्मक भौतिकवादले सिकाएझैँ, पुरानो र नयाँको टक्करबाट श्रेष्ठ संश्लेषण (Synthesis) निस्कनुपर्छ। दार्शनिक इम्यानुएल कान्टले "सापियर औडे" (Sapere Aude) अर्थात् "आफ्नो विवेक प्रयोग गर्ने साहस गरू" भनेका थिए। आजको नेपाली समाजलाई यही साहसको खाँचो छ, जसले दलीय घेराभन्दा बाहिर निस्केर राष्ट्रको हित सोच्न सकोस्।
नेपाललाई चाहिएको न त सबै पुरानालाई गाली गर्ने "शून्यवादी" (Nihilistic) सोच हो, न त नयाँ सबैलाई दलाल देख्ने "असुरक्षित" मानसिकता। देशको वास्तविक निकास "संस्थागत सुधार" (Institutional Reorm) र "योग्य नेतृत्व" मा छ। राजनीतिलाई होहल्लाबाट मुक्त गरी उच्च नैतिक विधाको रूपमा पुनःस्थापित गर्नु नै आजको मुख्य चुनौती हो। साँचो राष्ट्रवाद अरूलाई गाली गर्नुमा होइन, आफ्नै घरभित्र योग्यता, नैतिकता र विवेकको शासन स्थापना गर्नुमा छ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०८२