काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको तथ्य सार्वजनिक भएको छ । विधान महाधिवेशन सञ्चालनमा रहेको र बन्दसत्रबाट अघिल्लो केन्द्रीय कार्यसमिति भंग भएको लिखित जानकारी निर्वाचन आयोगमा पहिल्यै दर्ता भइसकेको खुलेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विशेष महाधिवेशन चलिरहेको जानकारीसहितको पत्र आयोगमा सोमबार नै प्राप्त भइसकेको छ । सो पत्रमा महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको विवरणसमेत संलग्न गरिएको आयोगले जनाएको छ ।
प्रवक्ता भट्टराईका अनुसार महाधिवेशनका क्रममा भएका निर्णयहरू अद्यावधिक गरी पठाइने उल्लेख गर्दै कांग्रेसले आयोगलाई पत्राचार गरेको भए पनि हालसम्म निर्णयसम्बन्धी थप विवरण भने प्राप्त भइनसकेको उनले जानकारी दिए ।
कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र आन्तरिक विवाद र राजनीतिक चासो बढिरहेका बेला निर्वाचन आयोगमा औपचारिक जानकारी दर्ता भइसकेको तथ्य सार्वजनिक हुनु अर्थपूर्ण मानिएको छ । यसले विशेष महाधिवेशनको वैधानिकता र आगामी निर्णयहरू कानुनी प्रक्रियाभित्रै अघि बढाइँदैछ भन्ने सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।
महाधिवेशनबाट हुने संरचनात्मक परिवर्तन, नेतृत्वसम्बन्धी निर्णय तथा कार्यसमिति पुनर्गठनजस्ता विषयहरू अद्यावधिक भएर आयोगमा पठाइएपछि मात्र त्यसको औपचारिक अभिलेख पूरा हुने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १, २०८२