काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले संस्थापन पक्षसँग कुनै पनि किसिमको भागबन्डा वा सत्तासाझेदारीको वार्ता नगरेको स्पष्ट पारेको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलमै आयोजित पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले भागबन्डा राजनीतिलाई अन्त्य गर्नु नै आफ्नो समूहको मूल उद्देश्य रहेको बताए। उनले पछिल्ला दिनमा फैलाइएका हल्ला र भ्रमप्रति आपत्ति जनाउँदै भने, “हामीले वार्तामा जाने साथीहरूलाई हाम्रो स्पष्ट टाइमलाइन दिएका छौँ। अहिले भ्रमपूर्ण प्रचार भइरहेको छ। हामी भागबन्डाका लागि होइन, विधि र प्रक्रियाको सर्वोच्चताका लागि अघि बढेका हौँ।”
उनले संस्थापन पक्षमाथि लेनदेनको राजनीति गरिरहेको आरोप लगाउँदै त्यसप्रति विशेष महाधिवेशन पक्षधरको असहमति रहेको पनि स्पष्ट पारे। पोखरेलका अनुसार वार्तामा सहभागी हुने नेताहरूलाई भागबन्डासम्बन्धी कुनै विषय उठाउने म्यान्डेट दिइएको छैन।
उनले विशेष महाधिवेशन पक्षधरको बटमलाइन प्रस्ट पार्दै भने— पार्टी सभापतिले सम्पूर्ण जिम्मेवारीबाट अलग हुनुपर्छ, आगामी प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा उम्मेदवार बन्न नहुने, र विशेष महाधिवेशनको सम्पूर्ण स्वामित्व पार्टीले औपचारिक रूपमा लिनुपर्ने माग उनीहरूको रहेको छ।
विशेष महाधिवेशन पक्षधरले यी मागहरू पार्टीभित्रको विधि, अनुशासन र संस्थागत प्रणालीलाई बलियो बनाउने उद्देश्यका साथ अघि सारिएको दाबी गरेका छन्।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२