काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको सहमति औपचारिक रूपमा भंग भएको घोषणा गरेको छ। सहमति भंगपछि पार्टीले स्वतन्त्र राजनीतिक यात्रालाई निरन्तरता दिने निर्णय गर्दै ‘चिम’ चुनाव चिन्ह लिएर आगामी प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने स्पष्ट पारेको हो।
रास्वपासँगको एकता प्रक्रिया टुंगोमा नपुगेपछि आज बसेको उज्यालो नेपालको आकस्मिक केन्द्रीय समिति बैठकले पार्टीको भावी रणनीति, संगठनात्मक संरचना र नेतृत्वबारे महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले सहमति भंगको जानकारी दिँदै अब आफ्नै राजनीतिक दर्शन, नीति र कार्यक्रमसहित जनतामाझ जाने प्रतिबद्धता जनाएको छ।
आकस्मिक बैठकले कुलमान घिसिङलाई उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त गरेको छ। यससँगै पार्टीका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्यायले नेतृत्वको जिम्मेवारी हस्तान्तरण गर्दै आफू पार्टीको संरक्षकको भूमिकामा रहने निर्णय गरेका छन्। उपाध्यायले पार्टी निर्माणको सुरुआती चरण पूरा भएको र अब संगठन विस्तार तथा चुनावी तयारीका लागि नयाँ नेतृत्व आवश्यक भएको निष्कर्षसहित अध्यक्ष पदबाट पछि हटेको पार्टी स्रोतले जनाएको छ।
पार्टीका अनुसार बैठकमा बहुसंख्यक केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो र नेतृत्व परिवर्तनसहितका निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको हो। उज्यालो नेपालले सहमति भंग भए पनि वैकल्पिक राजनीतिको एजेन्डा कमजोर नपर्ने दाबी गर्दै भ्रष्टाचारविरुद्धको अभियान, सुशासन, रोजगारी र जनमुखी विकासलाई आफ्नो प्रमुख राजनीतिक मुद्दा बनाउने जनाएको छ।
पार्टी नेतृत्वले रास्वपासँगको सहमति भंग हुनु दुर्भाग्यपूर्ण भए पनि यसले उज्यालो नेपालको राजनीतिक अस्तित्व र लक्ष्यमा कुनै असर नपर्ने दाबी गरेको छ। आगामी दिनमा देशव्यापी संगठन विस्तार, जनसम्पर्क अभियान र चुनावी तयारीलाई तीव्र बनाइने पनि पार्टीले जानकारी दिएको छ।
उज्यालो नेपालले ‘चिम’ चुनाव चिन्हमार्फत मतदातामाझ स्पष्ट वैकल्पिक शक्ति भएर उभिने दाबी गर्दै आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने लक्ष्य लिएको जनाएको छ।
प्रकाशित मिति: शनिबार, पुस २६, २०८२