काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले १६ बुँदे प्रश्नावलीको लिखित जवाफ बुझाएका छन्।
आयोगले सोधपुछका लागि तयार पारेको १६ वटा प्रश्न शुक्रबार मेयर शाहलाई पठाएको थियो। मेयरका स्वकीय सचिव नवीन भण्डारीका अनुसार ती प्रश्नको जवाफ उनले सोमबार आयोगमा बुझाइसकेका हुन्।
‘शुक्रबार सोधपुछ प्रश्नावली आएको थियो,’ भण्डारीले भने, ‘सोमबार सबै प्रश्नको जवाफ लिखित रूपमा बुझाइ सकिएको छ।’
भण्डारीका अनुसार आयोगले विशेषगरी भदौ २३ र २४ गते भएका घटनामा केन्द्रित रहेर प्रश्न तयार पारेको थियो। मेयर शाहले जवाफ समेटिएको पत्र गोप्य राख्दै बन्द खाममा आयोगलाई बुझाएका हुन्।
उक्त अवधिमा भएको जेन–जी आन्दोलनका क्रममा मेयर शाहले अप्रत्यक्ष रूपमा सहयोग गरेको आरोप लाग्दै आएको छ। भदौ २३ गतेको आन्दोलनका बेला काठमाडौँ महानगरपालिकाले आन्दोलनकारीलाई पानी वितरण गरेको थियो।
त्यस्तै, भदौ २४ गते तत्कालीन प्रधानमन्त्रीलगायतले राजीनामा दिइसकेको दाबी गर्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत आन्दोलनबाट फर्किन आह्वान गरेका थिए। नयाँ सरकार गठनको सन्दर्भमा उनले जेन–जी समूहलाई सेनासँग वार्ता गर्न र प्रतिनिधिसभा विघटनलाई सर्तका रूपमा अघि सार्न सुझाव दिएको पनि उल्लेख गरिएको छ।
वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्ने प्रक्रियामा समेत मेयर शाहको भूमिका रहेको बताइँदै आएको छ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२