काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट सिफारिस गर्न कार्यदल गठन गरेको छ। उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सात सदस्यीय उम्मेदवार छनोट सिफारिस कार्यदल गठन गरिएको उज्यालो नेपाल पार्टीका नेता जीतराम वाइबाले जानकारी दिए।
कार्यदलमा रास्वपाबाट दुई जना, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को तर्फबाट दुई जना र उज्यालो नेपाल पार्टीको तर्फबाट दुई जना सदस्य रहने व्यवस्था गरिएको छ। बाँकी एक सदस्यको नाम टुंगो लगाउन बाँकी रहेको जनाइएको छ।
रास्वपाको तर्फबाट शिशर खनालको नाम प्रस्ताव गरिएको छ भने अर्को सदस्यको नाम तय हुन बाँकी छ। उज्यालो नेपाल पार्टीबाट जीतराम वाइबा र राजु थापाको नाम प्रस्ताव गरिएको छ। यस्तै, बालेनको तर्फबाट सागर ढकाल र सुदिप ढकाल कार्यदल सदस्यका रूपमा प्रस्तावित छन्।
यसअघि समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा विवाद देखिएको सन्दर्भमा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा विवाद नहोस् भन्ने उद्देश्यले कार्यदल गठन गरिएको नेता वाइबाले बताए। ‘अब विवाद नहुने गरी कार्यदलले काम गर्नेछ,’ उनले भने।
रास्वपाको केन्द्रीय समितिको बैठकले उक्त कार्यदललाई औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ। दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् भने प्रत्यक्षतर्फ माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०८२