काठमाडौं, पुस १७ — प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए।
भेटवार्तामा प्रसाईं नेतृत्वको समूहले लामो समयदेखि उठाउँदै आएका मागहरूबारे विस्तृत छलफल भएको सचिवालयले जनाएको छ। विशेषगरी मंसिर ६ गतेदेखि निरन्तर उठाइँदै आएका मागहरूको कार्यान्वयनका विषयमा सरकारको ध्यानाकर्षण गराइएको थियो।
यसअघि पनि उक्त समूहसँग सरकार पटक–पटक संवादमा बसेको थियो। पछिल्लो भेटमा मागहरूको व्यावहारिक कार्यान्वयन र आगामी कदमबारे छलफल केन्द्रित भएको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२