नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकस्थित आफ्ना घरमा लागेको आगलागीपछि जलेको घरको निरीक्षण गर्दै घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। निरीक्षणका क्रममा उनले आगलागीबाट घरका सामान पूर्ण रूपमा क्षति भएकोबारे पार्टीका नेता–कार्यकर्तासँग छलफल गरेका थिए।
पत्रकारले ‘घर देखेर भावुक हुनुभयो?’ भन्ने प्रश्न गरेपछि ओलीले आफू भावुक नभई देशलाई यस्ता आपराधिक गतिविधिबाट कसरी जोगाउने भन्ने विषयमा गम्भीर रूपमा सोचिरहेको प्रतिक्रिया दिए।
उनले भने, “म भावुक भएको होइन। यस्ता अपराधीबाट देशलाई कसरी सुरक्षित राख्ने र उनीहरूलाई कानुनअनुसार कसरी कारबाही गर्ने भन्ने कुरा सोचिरहेको छु।”
ओलीले घर जलाउन उक्साउने, डेरा जमाएर अभियान चलाउने र योजनाबद्ध रूपमा आगजनी गर्ने गतिविधि गम्भीर आपराधिक कर्म भएको बताए। राष्ट्रिय तथा सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक दलका कार्यकर्ताका घर जलाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ थियो।
“अपराधलाई प्रोत्साहन गर्न सकिँदैन। यस्ता गतिविधि रोक्दै देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्छ,” उनले जोड दिए। अरूको घर जलाउनेलाई कडा कारबाही हुनैपर्ने स्पष्ट पार्दै उनले वर्तमान सरकारले यस्ता व्यक्तिलाई जोगाउने काम गरेको आरोप पनि लगाए।
अपराधीमाथि कारबाहीका लागि उचित समय आउने दाबी गर्दै ओलीले कानुनी शासनको पालना अपरिहार्य रहेको बताए।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०८२