काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकता आह्वानप्रति कडा प्रतिक्रिया जनाएका छन्।
हिजो प्रचण्डले माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्दै विप्लवलाई समेत कम्युनिस्ट एकताको प्रक्रियामा सहभागी हुन अपिल गरेका थिए। त्यसको जवाफ दिँदै विप्लवले चुनावी मोर्चामासमेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको कुरा गर्नु कम्युनिस्ट आन्दोलनमा धेरै पटक प्रयोग भइसकेको, असफल र थोत्रो जालझेल मात्र भएको टिप्पणी गरेका छन्।
उनले यस्तो भ्रममा विचार मरेका, आत्मबल कमजोर भएका, आशा गुमाएका र आफ्नै इतिहासको बोझले थिचिएका व्यक्तिहरू मात्र पर्न सक्ने दाबी गरे।
अनेक मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यतर्फ अग्रसर रहेको आफ्नो पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको उल्लेख गर्दै विप्लवले त्यसको पुष्टि आउने भविष्यले गर्ने जिकिर गरे।
विप्लवले आफ्नो पार्टी सबै कम्युनिस्ट शक्तिहरूबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्ने शक्तिसँग एकताको पक्षमा रहेको स्पष्ट गर्दै मालेमावादी धारको सुदृढीकरणमा जोड दिएको बताए।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०८२