काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कसैसँग गठबन्धन नगरी पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गरेका छन् ।
नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई मंगलबार बिहान सम्बोधन गर्दै प्रचण्डले जनताबाट अस्वीकृत र तिरस्कृत शक्तिसँग कुनै किसिमको चुनावी तालमेल नहुने स्पष्ट पारे । पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने र सबैभन्दा धेरै सिट जित्ने उनको जिकिर थियो ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले अन्य दल र मतदाताबाट सकारात्मक प्रतिक्रिया आइरहेको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचनमा एमालेभन्दा बढी सिट जित्ने अवस्था बनिसकेको दाबी गरे । उनले सम्पूर्ण पार्टी पंक्तिलाई उत्साहपूर्वक निर्वाचनको तयारीमा जुट्न र आधिकारिक उम्मेदवारको जित सुनिश्चित गर्न निर्देशनसमेत दिएका थिए ।
बैठकलाई सम्बोधन गर्दै सहसंयोजक माधवकुमार नेपालले पनि पार्टी एक्लै चुनाव लड्ने निर्णयमा दृढ रहेको बताए । राजनीतिक संवाद र छलफल भइरहने भए पनि चुनावी मैदानमा नेकपा आफ्नै शक्तिमा उत्रिने उनले बताए ।
झण्डै एक घण्टा चलेको उक्त जुम बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०८२