काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।
काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलबाट शुक्रबार प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएपछि सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार आयोगको पत्र प्राप्त भएपछि प्रसाईंलाई पक्राउ गरिएको हो।
यसअघि पनि माघ ५ गते प्रसाईं पोखराबाट पक्राउ परेका थिए। कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०८२