काठमाडौं। राष्ट्रिय सभाका नेपाली कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामो समयसम्म फैसला नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढुंगानाले न्यायालयको निष्क्रियताप्रति गम्भीर प्रश्न उठाएका हुन्। उनले सर्वोच्च अदालतका न्यायाधीशहरू यति धेरै निरीह बनेको अवस्था आफूले यसअघि कहिल्यै नदेखेको दाबी गरे।
पञ्चायतकाल र राजतन्त्रको समयसमेत स्मरण गर्दै उनले त्यस बेला पनि महत्वपूर्ण मुद्दाहरूमा अदालतले प्राथमिकताका साथ निर्णय गर्ने गरेको उल्लेख गरे। तर अहिले संसद् पुनर्स्थापनाजस्तो संवेदनशील विषयमा समेत अदालतबाट फैसला नआउनु चिन्ताजनक भएको उनको भनाइ थियो।
‘देशको राष्ट्रियता कमजोर हुँदै गएको छ। संसद् पुनर्स्थापनाका लागि मुद्दा दर्ता भएको लामो समय बितिसक्दा पनि न्यायाधीशहरू किन यति निरीह देखिएका छन्, मलाई थाहा छैन,’ ढुंगानाले भने, ‘पञ्चायत र राजाको शासनकालमा पनि राजकाजसम्बन्धी मुद्दामा तत्काल फैसला हुने गर्थ्यो, तर आज त्यो अवस्था देखिँदैन।’
उनले सरकारमाथि पनि राष्ट्रिय हितका सवालमा आवश्यक चासो र गम्भीरता देखाउन नसकेको आरोप लगाए।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०८२