काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक सातासम्म आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदातासँग भेटघाट गरेपछि काठमाडौं फर्किएका छन्।
माघ ५ गते झापा पुगेका ओलीले कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग छलफल गरेका थिए। निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार उनले कमल गाउँपालिकाका सबै वडामा भेटघाट सम्पन्न गरेका छन्।
त्यसैगरी गौरादह नगरपालिकाका ८ वटा वडा र गौरिगञ्ज गाउँपालिकाका ३ वटा वडामा पनि उनले वडा स्तरीय कार्यक्रम तथा छलफल गरेका थिए। दमक नगरपालिकामा समेत पार्टीका वडा कमिटी पदाधिकारी र सदस्यहरूसँग अन्तरक्रिया गरिएको बताइएको छ।
झापामा रहँदा ओलीले औपचारिक सभाभन्दा बढी अनौपचारिक भेटघाटलाई प्राथमिकता दिएका थिए। भेटका क्रममा उनले झापालाई आफूले केवल मत लिने स्थानका रूपमा नहेरेको र सुख–दुःखमा सधैं झापालीसँगै रहेको धारणा व्यक्त गरेका थिए।
ओलीको बसाइसँगै ‘हामी झापाली’ अभियान सुरु भएको छ। झापाका क्याफे, होटल तथा रेष्टुरेन्टहरूमा ‘हामी झापाली’ लेखिएका स्टिकर देखिन थालेका छन्। ओलीको फेसबुक पेजमार्फत पनि अभियान अघि बढाइएको छ भने उनका समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमा सोही नारालाई प्राथमिकता दिएका छन्।
प्रकाशित मिति: बिहीबार, माघ ३०, २०८२