शाहले वर्तमान अवस्थालाई “अस्वाभाविक छटपटीको भुमरी” भन्दै वर्णन गरेका छन्। देशको अस्मिता र अस्तित्वमाथि संकट देखिएको अनुभूति धेरै नेपालीले गरिरहेको उल्लेख गर्दै उनले विगतका आन्दोलन र परिवर्तनबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताए।
“विभिन्न नाममा आन्दोलन भए, संघर्षका आधारमा परिवर्तन पनि गरिए। तर ती परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिए भन्नेबारे आत्मसमीक्षा आवश्यक छ,” उनले सन्देशमा भनेका छन्।
उनका अनुसार अहिलेको मुख्य शत्रु विपन्नता र अस्थिरता हुन्। एक नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिले जरा गाड्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले अधिकारभन्दा बढी कर्तव्यबोध आवश्यक रहेको उल्लेख गरेका छन्।
“अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको छ। आलोपालो भाग लगाएर खाने सोचले होइन, मिलेर काम गर्ने भावनाले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ,” उनले भने।
शाहले कुनै पनि व्यवस्थाका सकारात्मक पक्षलाई जोगाउँदै नकारात्मक पक्ष त्याग्नुपर्ने धारणा राखेका छन्। विश्वका धेरै राष्ट्रहरूले ‘पहिला आफ्नो देश, पहिला आफ्ना जनता’ भन्ने प्राथमिकताका साथ लोकतान्त्रिक अभ्यास अघि बढाइरहेको उदाहरण दिँदै उनले नेपालले पनि राष्ट्रिय सहमति र साझा दृष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
उनको भनाइमा, राष्ट्रिय संकट समाधान नगरी गरिने निर्वाचनले समाधानभन्दा थप द्वन्द्व निम्त्याउन सक्ने जोखिम रहन्छ।