चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई काम गर्ने र भाषण मात्र गर्ने प्रवृत्तिबीचको स्पष्ट प्रतिस्पर्धाका रूपमा व्याख्या गरेका छन्।
भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले मतदाताले अब कामका आधारमा नेतृत्व छान्नुपर्नेमा जोड दिए। उनले आफ्नो पार्टी देशमा ठोस परिवर्तन ल्याउने उद्देश्यसहित अघि बढेको दाबी गर्दै जनताको साथ र विश्वास आवश्यक रहेको बताए।
“हामी देश र जनताको भविष्य उज्यालो बनाउन आएका छौं। अब काम देखाउनेलाई साथ दिनुहोस्,” उनले भने।
कार्यक्रम जिल्ला संयोजक समीर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा प्रदेश संयोजकसहित चितवनका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थिति रहेको पार्टीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२