खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार विस्तृत अध्ययन र थप परीक्षणपछि प्रारम्भिक अनुमानभन्दा धेरै ठूलो परिमाणमा ग्यास रहेको निष्कर्ष निकालिएको हो। यसअघि तयार गरिएको प्रारम्भिक प्रतिवेदनमा करिब एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो।
यद्यपि, भण्डारणको परिमाण पुष्टि भए पनि यसको व्यावसायिक उत्खनन सम्भाव्यता भने ‘वेल टेस्टिङ’पछि मात्र स्पष्ट हुने विभागले जनाएको छ। प्रवक्ता खड्काले भने, “हालसम्म हामीले ग्यासको भण्डारण आकार पहिचान गरेका छौँ। अब वेल टेस्टिङमार्फत कति परिमाण निकाल्न सकिन्छ, कुन प्रविधि प्रयोग गर्ने उपयुक्त हुन्छ भन्ने तय हुन्छ।”
उनका अनुसार आगामी चरणमा ड्रिलिङ गरिएको स्थानमा आवश्यक उपकरण जडान गरी चट्टान फुटाउने वा ग्यास विस्थापन गर्ने प्रक्रिया अघि बढाइनेछ। त्यसपछि निस्कने ग्यासको प्रयोगशाला परीक्षण गरी मात्र व्यावसायिक उत्पादनतर्फ अघि बढ्ने तयारी छ।
नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच दुई अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम अन्वेषण गर्ने सम्झौता भएको थियो। सोहीअनुसार चिनियाँ टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेटोटेल्युरिक तथा जियोकेमिकल सर्वे सम्पन्न गरिसकेको विभागले जनाएको छ।
हाल प्राप्त अन्तिम प्रतिवेदनमाथि विभागले थप अध्ययन गरिरहेको छ। बाँकी काम सम्पन्न गर्न अनुदान सहयोग उपलब्ध गराइदिन नेपाल सरकारले चीन सरकारसँग आग्रह गरेको जानकारी पनि दिइएको छ।
विज्ञहरूका अनुसार दैलेखमा फेला परेको ग्यास ‘शेल’ वा ‘टाइट ग्यास’ प्रकृतिको हुनसक्छ, जुन चट्टानका पत्रमा थुनिएको अवस्थामा रहने भएकाले उत्खनन जटिल हुन्छ। व्यावसायिक प्रयोजनका लागि चट्टान फोड्ने प्रविधि अपनाउनुपर्ने चुनौती रहने बताइएको छ।
दैलेखमा परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार मानेर २०७६ असोजदेखि अन्वेषण कार्य सुरु गरिएको थियो। आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा समेत दैलेखका राजनीतिक दलहरूले ग्यास उत्खननलाई प्रमुख चुनावी मुद्दा बनाएका छन्।