काठमाडौं । केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) पहिलो शक्ति बन्ने दाबी गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदातासमक्ष प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले विभिन्न आक्रमण र अवरोधका बाबजुद एमाले झनै सशक्त बनेको बताए। उनले पार्टीलाई कमजोर पार्ने प्रयासस्वरूप आगजनी र अराजक गतिविधि गरिए पनि त्यसले एमालेलाई रोक्न नसक्ने जिकिर गरे।
“एमाले पहिले दोस्रो पार्टी थियो, अब हुने निर्वाचनमा पहिलो पार्टी बन्छ,” उनले भने, “हामी त ८४ को चुनाव पर्खिरहेका थियौं, तर अहिले नै पहिलो पार्टी बन्ने अवसर आएको छ। विरोधी शक्तिहरूले कान खोलेर सुने हुन्छ—एमाले नै पहिलो पार्टी बन्छ।”
ओलीले बहुमत नआए पनि एमाले सबैभन्दा ठूलो दल बन्ने दाबी दोहोर्याए। देशमा आगजनी, तोडफोड र लुटपाट जस्ता गतिविधि गर्नेहरूलाई उनले कडा आलोचना गर्दै यस्ता कार्य नेपाली समाजको चरित्रसँग मेल नखाने बताए।
उनले नेपालीहरू श्रम गरेर जीवनयापन गर्ने, शान्तिप्रिय र जिम्मेवार नागरिक भएको उल्लेख गर्दै अराजकता फैलाउने प्रवृत्तिको प्रतिरोध गर्नुपर्ने धारणा राखे।
प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२