जनकपुरधाम। गगन कुमार थापाले अब नेपाली कांग्रेसले देशको नेतृत्व सम्हाल्दै कुशासनको अन्त्य गर्ने प्रतिज्ञा गरेका छन्।
जनकपुरधामस्थित तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले कांग्रेस सबै वर्ग र समुदायलाई समेटेर अघि बढ्न सक्षम रहेको दाबी गरे। मधेशबाटै देश परिवर्तनको साहस र अठोट जन्मिएको उल्लेख गर्दै उनले संघीयताको प्रभावकारी कार्यान्वयनमा मधेशको निर्णायक भूमिका रहने बताए।
“अब मधेशले संघीयतालाई व्यवहारमा उतार्न नेतृत्व लिनुपर्छ,” उनले भने, “शिक्षा, स्वास्थ्य, विज्ञान र सूचना प्रविधिका आधार यहाँ प्रशस्त छन्।”
थापाले मधेशलाई ज्ञानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित कांग्रेस मधेश आएको स्पष्ट पारे। मधेशका शिक्षकहरूको योगदान स्मरण गर्दै उनले भने, “मधेशको शिक्षा नभएको भए पहाडमा गणित राम्रोसँग पढाइ हुने थिएन। मधेशका शिक्षकले देशलाई शिक्षित बनाएका हुन्।” तर अहिले शिक्षा, स्वास्थ्य र विज्ञानको अवस्था कमजोर रहेको भन्दै सुधारको प्रतिबद्धता जनाए।
उनले किसान, विशेषगरी उखु किसानका समस्या, वातावरणीय संकट र खानेपानी अभाव समाधानलाई प्राथमिकतामा राख्ने बताए। साथै मधेशलाई सिंगो देशलाई धान्न सक्ने आर्थिक शक्तिका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे।
विदेशमा रहेका नेपालीहरूको सुरक्षाबारे बोल्दै उनले आवश्यक परे दूतावास र कर्मचारी व्यवस्थापन गरी राज्यले जिम्मेवारी लिने बताए। “विदेशमा जहाँसुकै रहेका नेपालीको हेरचाह गर्नु राज्यको दायित्व हो,” उनले भने।
मधेशको वित्तीय संरचना अस्तव्यस्त भएको उल्लेख गर्दै सहकारी ठगी नियन्त्रणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। “सहकारी ठगहरूलाई अब तह लगाइन्छ,” उनले चेतावनी दिए।
युवाहरूको आकांक्षालाई सम्बोधन गर्दै उनले मधेशमा क्रिकेट एकेडेमी स्थापना गर्ने योजना पनि सार्वजनिक गरे। “मधेशका युवाले देखेको क्रिकेटको सपना पूरा गर्न चाहन्छु,” उनले भने।
आफू मधेशको ‘बेटा’ बन्न आएको बताउँदै उनले यहाँका ऐतिहासिक व्यक्तित्वहरूको साहसबाट प्रेरणा लिएको उल्लेख गरे। कांग्रेस अब आत्मसमीक्षा र शुद्धीकरणसहित जनविश्वास जित्न मैदानमा आएको उनको भनाइ थियो।
“अब हामी मत मात्र होइन, विश्वास लिन आएका छौं,” उनले भने, “देशलाई सँगसँगै अघि बढाउँदै परिवर्तन देखाउन कांग्रेस तयार छ।”
प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२