काठमाडौं । ७५औँ प्रजातन्त्र दिवसको अवसर पारेर राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनको १ नम्बर गेटमा लेखक तथा चिल्ड्रेन भिजन नेपालका अध्यक्ष रमेश सिलवालद्वारा लिखित पुस्तक ‘नेपालमा जेन–जी आन्दोलन’ सार्वजनिक गरिएको छ। समकालीन नेपाली समाजमा उदाउँदै गएको डिजिटल पुस्ताको राजनीतिक चेतना, राज्य संरचनाप्रतिको बदलिँदो दृष्टिकोण र वैकल्पिक राजनीतिक संस्कृतिको खोजलाई केन्द्रमा राखेर तयार पारिएको उक्त कृति एक विशेष समारोहबीच लोकार्पण गरिएको हो।
विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, अनुसन्धानकर्ता, जेन–जी आन्दोलनका अगुवा, युवा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित हुँदै गएको युवाशक्तिको भूमिकालाई नेपाली राजनीतिक परिवेशको नयाँ आयामका रूपमा व्याख्या गरे।

लेखक सिलवालका अनुसार पुस्तक केवल सैद्धान्तिक विमर्श मात्र नभई जेन–जी पुस्ताको पीडा, संघर्ष, असन्तोष र आशाको प्रत्यक्ष दस्तावेज हो। पुस्तकमा सामाजिक सञ्जालको प्रभाव, डिजिटल माध्यमबाट हुने संगठन निर्माण, परम्परागत नेतृत्वप्रतिको प्रश्न, वैकल्पिक राजनीतिक संस्कृतिको खोज, भ्रष्टाचार र दण्डहीनताविरुद्धको आक्रोश, अवसरको अभाव तथा नीतिगत अपारदर्शिताजस्ता विषयलाई विश्लेषणात्मक रूपमा समेटिएको छ।
कृतिमा नेपालका प्रमुख राजनीतिक आन्दोलनहरूको ऐतिहासिक सन्दर्भसमेत समावेश गरिएको छ। प्रजातन्त्र स्थापनादेखि पञ्चायतविरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलन तथा २०६२÷६३ को जनआन्दोलनसम्मको राजनीतिक यात्राले निर्माण गरेको अपेक्षा र त्यसपछिको निराशालाई पृष्ठभूमिका रूपमा प्रस्तुत गर्दै, त्यही सन्दर्भमा विकसित जेन–जी आन्दोलनलाई दलगत संरचनाभन्दा बाहिरको स्वतःस्फूर्त अभिव्यक्तिका रूपमा व्याख्या गरिएको छ। साथै आन्दोलनका सकारात्मक पक्षसँगै त्यसका सीमाहरू, चुनौतीहरू र सम्भावित जोखिमहरूलाई पनि तथ्य र उदाहरणसहित विश्लेषण गरिएको लेखकले बताए।
विमोचन समारोहलाई सम्बोधन गर्दै लेखक सिलवालले भन्नुभयो, “यो पुस्तक कुनै पूर्वाग्रह वा धारणा आरोपित गर्ने प्रयास होइन। जेन–जी आन्दोलनलाई इतिहास, समाज र राजनीतिका व्यापक सन्दर्भमा बुझ्ने आधार तयार गर्ने प्रयास हो। सडकमा उठेका आवाज र युवापुस्ताको अनुभूत पीडालाई शब्दमा रूपान्तरण गरेर भावी पुस्ताका लागि सुरक्षित राख्नु नै मेरो उद्देश्य हो।”
उहाँले लोकतन्त्र र स्वतन्त्रता सहजै प्राप्त नभएको उल्लेख गर्दै त्यसका लागि भएका संघर्ष, बलिदान र विशेषगरी युवाशक्तिको योगदानलाई स्मरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।‘नेपालमा जेन–जी आन्दोलन’ अब देशभरका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२