दमक । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा ७० प्रतिशत मतसहित जित हासिल गर्ने दाबी गरेका छन्। नेपाली कांग्रेस संगठनात्मक रूपमा थिग्रिन नसकेको र पूर्वमाओवादी पंक्तिका ठूलो हिस्सा एमालेतर्फ आकर्षित भइरहेको दाबी गर्दै उनले खसेको मतको दुईतिहाइभन्दा बढी एमालेले ल्याउने विश्वास व्यक्त गरे।
कमल गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले क्षेत्रको विकास, रुपान्तरण र बलियो जनआधारका कारण समग्र क्षेत्र नै एमालेको पक्षमा एकजुट रहेको बताए। अहिलेको राजनीतिक अवस्थालाई अपराधीकरणतर्फ धकेल्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले जेन–जी आन्दोलनमा राजनीतिक गतिविधिभन्दा आपराधिक क्रियाकलाप हाबी भएको आरोप दोहोर्याए।
‘हामीले भनेअनुसार नै चल्नुपर्छ भन्ने दबाब आउन सक्छ, तर त्यस्तो दबाब स्वीकार्य हुँदैन,’ ओलीले भने, ‘कांग्रेस–एमाले मिल्न नदिन र देशमा बाह्य शक्तिको प्रभाव रोक्न नपरोस् भनेर यस्ता गतिविधि गराइएको हो। अस्थिरताको खेतीबाट देशलाई जोगाउन अब निर्णायक कदम चाल्नुपर्छ।’
उनले दमकमा भएका आगजनी र तोडफोडप्रति प्रश्न उठाउँदै नगरपालिका र व्यापारिक संरचना किन जलाइयो भन्ने प्रश्न गरे। दमकलाई नमूना सहरका रूपमा विकास गर्ने सम्भावना हुँदाहुँदै योजनाविहीन हिंसात्मक गतिविधिले अवसर गुमेको उनको भनाइ थियो। ‘भ्यू टावर होइन, त्यस्ता संरचनालाई आईटी हबका रूपमा विकास गर्न सकिन्थ्यो,’ उनले भने, ‘देश जलाएर र जनता आतङ्कित पारेर विकास हुँदैन।’
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित टिप्पणी गर्दै ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूले भूमिहीन नागरिकको दीर्घकालीन बसोबास समाधान गर्न नसक्ने टिप्पणी गरे। विपन्न आवास कार्यक्रम र एकीकृत बस्ती विकास योजनामार्फत धेरै नागरिकले घरबास पाएको उदाहरण दिँदै उनले व्यवस्थित पुनर्वास नै दिगो समाधान भएको दाबी गरे।
प्रकाशित मिति: बुधबार, माघ ८, २०८२