काठमाडाैं : मकवानपुर र ललितपुरको सिमानामा अवस्थित बागमती साना जलविद्युत आयोजना को निर्माणको काम सकिएर परिक्षण प्रसारण सुरु भएको छ। २२ मेगावट क्षमताको यो आयोजना लक्षित समयभन्दा केही महिना ढिला भए पनि समयमै सकिएको हो ।
२.४ किमी सुरुङ, बाँध, एप्रोच क्यानल, पेनस्टक पाइप र सतही पावरहाउस भएको यो प्रोजेक्ट भुइँचालो, नाकाबन्दी र फास्टट्रयाकको कामले केही महिना पछाडि धकेलिएको हो। शुक्रबार वेट टेस्ट सुरु भएको छ । साइट इन्जार्ज शिशिर देवकोटाका अनुसार अब केही दिन क्षमता बढाएर निरीक्षण गरिने छ र चैत्रको मध्यतिरबाट औपचारिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा पठाइने छ।
देवकोटाका अनुसार चार वर्षभन्दा बढीको मेहनत सफल भएको हो। यो आयोजना बनाउँदा पर्दाअगाडि र पर्दापछाडिबाट लाग्ने सबैका लागि यो ठूलो सफलता हो । कामदार, इन्जिनियर, भूगर्वविद् लगायत करिब छ सयभन्दा बढीको योगदान छ यसमा , देवकोटाले भने, बागमतीको फोहोर ढलजस्तो पानीबाट पनि बिजुली निस्केला भनेर कसैले पत्याएका थिएनन् । तर सफल भइयो । देशमा उर्जासंकट हुन नपाओस् । हाम्रो मेहनत त्यसैका लागि हो ।
आयोजनाबाट उत्पादन हुने विद्युत साढे १३ किलोमिटर दूरीमा पर्ने कुलेखानी सबस्टेसनमा जोडिने छ । मान्डु हाइड्रोपावरको करिब चार अर्ब लगानीमा बनेको बागमती साना जलविद्युत आयोजनाले स्थानीयलाई दस प्रतिशत शेयर दिने जनाएको छ । बागमती साना जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता को आयोजना हो। यो आयोजना २०७२ साल जेठबाट सुरु गरिएको थियो।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५