डा. जनार्दन सुवेदी
धन्य हो यो झोला ! यो कुनै सामान्य कपडाको थैला होइन, यो नेपाली राजनीति, इतिहास, समाजशास्त्र, अर्थतन्त्र र नैतिकताको समवेत मृत्युलेखन हो, जसले बहिर्मुखी मौनतामा अनेक गहिरा सत्यहरू बोकेको छ– शब्दविहीन, तर पूर्ण । खासगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर ‘म झोले हुँ’ भन्ने घोषणा गरेपछि, झोला अब लाज होइन, एक किसिमको सत्ता–प्रदत्त उपाधि बन्न पुगेको छ । यो झोला कुनै विचारले भरिएको छैन, यो सुविधा, सिफारिस र सम्बन्धहरूको दलदल हो ।
‘झोले‘ अब गाली होइन, एक औपचारिक चिह्न हो ।
यो मनचिन्ते झोला हो, जो जसले चाह्यो, त्यसले माग्यो, अनि झोलाले तुरुन्तै निकालेर दिएको । भुइँचिरा जस्तै स्वचालित सेवा । यो झोलाले जनताको पीडा होइन, सत्ताको सौदाबाजी बोकेको छ । जहाँ झोला, त्यहाँ चमत्कार भनिन्छ, ‘जहाँको राजा, त्यहाँको ढोग ।’ अहिलेको नेपालमा यो उक्ति रूपान्तरण भएर आएको छ, ‘जहाँ झोला, त्यहाँ टिकट, सिफारिस, मिलापत्र, जग्गा हिनामिना, दरबार बेचबिखन, अनि राष्ट्र लुट ।’ पहिले जनता राजा देखेर ढोग्थे; अब जनता झोला देखेर ढोग्छन् । किनभने झोलाकै पेटमा मन्त्री बन्ने चिठी, राजदूत बन्ने सिफारिस, ठेक्का पाउने प्रपोजल र कानुन मिच्ने सम्झौता हुन्छ ।
झोलाको इन्वेन्टरी : सबैका लागि केही न केही
१. झापा आन्दोलनका निर्दोष बूढाबूढीको टाउको
ओलीको क्रान्तिकालीन विरासतको झोलामा आज पनि २०२८ सालमा झापामा मारेका निर्दोषहरूको पीडा बचेको छ । ती टाउकाहरू विचारका लागि होइन, शक्तिको उन्मादका लागि कसैको बलिदान थिए ।
२. माओवादी युद्धमा झोलामा हराएका विचारहरू
युद्धमा हजारौँ ‘झोले’ लडे, मरे । बाँचेका झोलेहरू आज मन्त्री बने, ठेकेदार बने । झोलामा बचेकाहरू अब क्रान्तिको होइन, कर्पोरेट सम्झौताको साक्षी छन् ।
३. मदन भण्डारी र मोदनाथ प्रश्रितको सपना
एकले बलिदान दिए, अर्कोलाई बलिदान दिइयो । आज ती सपना झोलामा सुरक्षित छन्, सिर्जनशील समाजको विचार होइन, चन्दा उठाउने यन्त्रका रूपमा ।
४. त्रिभुवन विमानस्थलदेखि पशुपतिनाथसम्मको सुन
सुनको तागत भनेको झोलाको ओजन हो । राष्ट्रपतिको नाडी हल्लाउने, मन्त्रीहरूको मति गुमाउने त्यो सुन आज झोलामा थन्किएको छ, न विचार न जिम्मेवारी ।
५. ललिता निवासदेखि बालुवाटारसम्मको जग्गा
‘जनताको नाममा, जनताको सम्पत्ति बेच्ने’को दस्तावेज झोलामा सुरक्षित छ–नक्सा, साइन, माफीनामा र निर्णयहरूसहित ।
६. भुटानी शरणार्थी घोटालाको नगद सौदाबाजी
नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका पठाउने प्रोजेक्टका दस्तावेज, कमिसन, बयानहरू सबै झोलाको गहिराइमा छन् । केशव दुलालको बयानदेखि सत्तामैथुनको दस्तावेजसम्म ।
७. कोभिड–१९ को महामारीमा जनताको आँसु
पिसिआर किट काण्ड, अक्सिजन सिलिन्डर, क्वारेन्टिन घोटाला सबै बिल, भुक्तानी र ‘मुनाफा साझेदारी’ झोलामा खचाखच छन् ।
३० लाख कार्यकर्ताको आत्मसमीक्षा
साँचो प्रश्न हो– ती ३० लाख कार्यकर्ता भएको पार्टीमा, ‘म झोले’ भनेर सामाजिक सञ्जालमा आफ्नो तस्बिर राख्ने आँट कति जनामा छ ? के त्यो आँट छ ? कि केवल सर्वोच्च नेता झोले हुँ भन्दाको जयजयकारमै सीमित छ पार्टीको निष्ठा ?
यो प्रश्नको उत्तरबाट मात्र थाहा हुन्छ, मोदीको ‘मै चौकीदार हुँ’ भन्ने नारा नक्कलको दम कत्तिको छ । खाली नाराजस्तै उधारो नेतृत्व र चाटुकारितामा सीमित रहन्छ भने त्यो घोषणाले विचार होइन, विडम्बनाको घोषणा मात्रै गर्छ ।
झोला अब पात्र होइन, नायक हो झोला अब लाजको वस्तु होइन, सफलताको औजार हो । क्रान्ति, आन्दोलन, बलिदान– सब झोलामा कैद छन्, र झोलाबाट निस्कन्छ– राजनीतिक नियुक्ति, ठेक्काको सिफारिस, नीति निर्माणको लबिइङ । विचार अब बहसको विषय होइन, झोलाको आन्तरिक ‘इन्वेन्टरी’ हो ।
सचेत समाजशास्त्रीहरूले यसलाई सामाजिक रूपान्तरणको नकारात्मक प्रतिमूर्ति भन्न थालेका छन् । क्रान्तिको झोला आज सम्बन्धको झोला बनेको छ । आदर्शको झोला आज अनुदानको झोला बनेको छ ।
समाजशास्त्रीय दृष्टिबाट झोला । यो झोला सामन्तवादको नयाँ संस्करण हो । पहिले दरबार थियो, अब सचिवालय छ । पहिले राजाज्यू थिए, अब अध्यक्षज्यू छन् । पहिले ‘बक्सिस’ थियो, अहिले ‘घोटाला बाँडफाँट’ छ । तर प्रवृत्ति उस्तै–केन्द्रीकृत शक्ति, चाकरी र संरचनागत अवसरको कब्जा । झोले बन्ने प्रक्रिया वास्तवमा आजको सामाजिक पदोन्नतिको नयाँ ढोका हो । विचार होइन, पहुँच चाहिन्छ; इमान होइन, सम्झौता चाहिन्छ; काम होइन, सिफारिस चाहिन्छ । यो हो समकालीन नेपालको ‘झोले–शास्त्र’ । झोला : विचारको अन्त्य, अवसरको सुरुआत । झोला अब विद्यार्थीको होइन, सांसदको झोला हो । यो किताब होइन, कमिसन बोक्छ । यो बारुद होइन, आयोगको निर्णय बोक्छ । झोला अब विचार होइन, आपूर्तिकर्ता हो । जसले माग्छ, उसले पाउँछ– अनुदान पनि, अपमान पनि, अवसर पनि, अपराध पनि ।
अन्त्यमा–झोला फाल्ने कहिले?अब मुख्य प्रश्न उब्जिन्छ– झोला कहिले फाल्ने? उत्तर सरल छ– जब देश चलाउनेहरू झोलामा भरिन्छन्, तब देश नै झोलामा हराउँछ । त्यसैले, झोलाबाट मुक्ति लिने कुरा अब प्रतीक्षा गर्नुपर्ने विषय होइन, यो चेतनाको, आत्मसमीक्षाको र नागरिक इमानको आह्वान हो ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०८२