काठमाडौं : नेपाल मतदाता अधिकार मञ्चले अध्ययन गरेको ‘प्रदेशसभा र संसद्का निर्वाचनमा सिमान्तकृत समुदायको सहभागिता अवस्था र चुनौती–२०७४’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । मञ्चले साेमबार आयोजना गरेको कार्यक्रमका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सिमान्तकृत समुदायका मतदाताले निर्वाचनमा भोग्नुपरेका कठिनाइ र सूचनाको पहुँचका बारेमा अध्ययन प्रतिवेदन निकाल्नु महत्वपूर्ण भएको बताए । प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले मतदाताको नामावली निरन्तर सङ्कलन गर्ने कार्य जारी राखेको र मतदाता नामावली सङ्कलनमा जागरण अझै जरुरी भएको उल्लेख गरे ।
पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचनमा समयमा मतदाता र उम्मेदवारलाई बहस गराउन जरुरी भएको उल्लेख गर्दै नेपालमा निर्वाचनका विषयमा पनि अध्ययन प्रतिवेदन प्रकाशनको थालनी महत्वपूर्ण भएको बताए ।
पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनका अध्ययन सामग्री प्रकाशन गर्दा मतदाता र सरोकारवाला पक्षसँग पनि छलफल गरेर प्रकाशन गर्नुपर्ने सुझाव दिँदै अध्ययन प्रतिवेदनले निर्वाचन आयोगलाई समेत सहयोग गरेको धारणा राखे।
मञ्चका अध्यक्ष भक्त विश्वकर्माले सिमान्तकृत समुदाय अपाङ्ग, तेस्रोलिङ्गी, महिलालाई मतदानमा कतिको पहुँच थियो र चुनौती कस्तो थियो भन्ने बारेमा अध्ययन प्रतिवेदन प्रकाशन गरेको जानकारी दिनुभयो । अनुसन्धानकर्ता डा सुवास रिसालले गर्नुभएको अध्ययन प्रतिवेदनमा सिरहा, रौतहट, कपिलवस्तु, ललितपुर, दोलखा र सिन्धुपाल्चोकका सीमान्तकृत समुदायलाई सहभागी गराइएको थियो ।-रासस
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५