काठमाडौं : रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत कोरियाले आगामी जेठ अन्तिम साता भाषा परीक्षा गर्ने भएको छ ।
१० औं भाषा परीक्षा जेठको २६ र २७ गते भाषा परीक्षाको मिति तय भएको हो । कोरियाले २०१९ को भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार परीक्षार्थीलाई उत्तीर्ण गर्ने वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले जनाएको छ । कोरियाले नेपाललाई १० हजार ५० संख्यामा कामदार कोटा निर्धारण गरेको छ ।
परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ । वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाका अनुसार फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइनेछ ।
सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो । कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झौता गरेको थियो ।
सुरुवातमा कृषि, निर्माण र फिसिङ(मछुवार) गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरिएपनि हाल भने कृषि, निर्माणमा मात्रै कामदार लगिँदै आएको छ । हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५